गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका चार जना मलेसियन नागरिकलाई स्वदेश पठाउने निर्णय भएको छ । मङ्सिर २ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मलेसियन नागरिकले नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिबानाबापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्री खरेलले विश्व बैङ्कबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
विदेश भ्रमण स्वीकृत
आगामी मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने ‘युनाइटेड नेसन्स् कन्भेन्सन एजेनिस्ट कर्पोरेसनको ११ औँ ‘सेसन अफ दी कन्फ्रेन्स अफ दी स्टेट पार्टिज’ मा सहभागी हुन सचिव गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । आगामी मङ्सिर ८ मा भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधान न्यायाधीशको शपथग्रहण कार्यक्रममा सहभागी हुन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
मन्त्रीपरिषद् बैठकले जापानका लागि नेपालका पूर्वराजदूत डा. मदनकुमार भट्टराई र काठमाडौँस्थित जापानी दूतावासको पूर्वकर्मचारी रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यस्तै आगामी मङ्सिर १६ गतेदेखि १८ गतेसम्म कतारको दोहामा आयोजना हुने ‘फरगिङ एम्बिटिएस ग्लोबल पार्टनरसिप फर सस्टेनेबल एन्ड रेसिस्लेन्ट ग्राडिएसन अफ लिस्ट डेभलभ्ड कन्ट्रिज’ विषयक उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई स्वीकृति दिने निर्णय भएको छ । आगामी मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सोलमा आयोजना हुने ‘बिल्डिङ अ केयर मुभमेन्ट टेक्निकल एसिस्टेन्ट फ्यासिलिटी अन ट्रान्सफर्मिङ केयर सिस्टम इन दी कन्टेक्स अफ डेमेग्राफिक सिफ्ट’ कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । जल तथा मौसम विज्ञान विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने र सशस्त्र प्रहरी बल, नेपालको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ ।
नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय भएको छ । रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।