- देशको कुल गार्हस्थ उत्पादनमा ७.०३ प्रतिशतले योगदान गर्ने
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३ गते । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३.३२ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार उक्त प्रदेशले चालु आवमा देशको कुल गार्हस्थ उत्पादनमा ७.०३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रादेशिक कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी ३४.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम ०.१३ प्रतिशत प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ ।
आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (०.१३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो ।
त्यसै गरी आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन चार खर्ब ३० अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान छ ।
समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भूक्षेत्र २.१६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन २.७७ प्रतिशतले बढेको छ ।
प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८.८९ प्रतिशत र १६.११ प्रतिशतले बढेको तर फापरको उत्पादन भने ७७.८८ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादन अन्तर्गत माछा उत्पादन १०.३६ प्रतिशत, मासु ०.७९ प्रतिशत, उन उत्पादन ३.२७ र अन्डा १.७६ प्रतिशतले बढेको छ ।
प्रदेशका बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १०.१४ प्रतिशत हिस्सा कृषिक्षेत्रमा प्रवाहित भएको छ । २०८२ असार मसान्तसम्म कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले घटेर १५ अर्ब ९६ करोड ४२ लाख रुपियाँ पुगेको छ ।
नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशतसहित समष्टिगत रूपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास प्रतिवेदनले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १६.९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित छ । त्यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा ४.३७ प्रतिशतले बढेर २६ अर्ब ७२ करोड तीन लाख रुपियाँ पुगेको छ ।
नमुनाका रूपमा छनोट गरिएका १० होटेलको औसत अकुपेन्सी ३६.४० प्रतिशत रहेको छ । यस्तै घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३७.५० प्रतिशतले र राजस्व ३७.६२ प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६.३० प्रतिशतले र कर्जा प्रवाह २.९८ प्रतिशतले बढेको छ ।