चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङमा एक युवा समाजसेवीले विद्यार्थीलाई न्यानो कपडा (स्विटर) र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । जिल्लास्थित नियान्स कन्स्ट्रक्सन प्रालिका सञ्चालक निसान लिम्बू (कुमार) ले आइतबार विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
युवा समाजसेवी तथा व्यवसायी लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३, तिरिङ्गेस्थित अरनिको आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीलाई न्यानो स्विटर र शैक्षिक सामग्री वितरण गरेको लिम्बूले बताउनुभयो ।
उहाँकाअनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर र कापीकलम वितरण गरिएको छ । विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पुर्याउने उद्देश्यले न्यानो कपडा (स्विटर) र शैक्षिक सामग्री वितरण गरेको उहाँको भनाइ छ ।
यता समाजसेवी लिम्बूले वितरण गर्नुभएको स्विटर र शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत मिलेको विद्यालयकी प्रधानाध्यापक बेनुका इजम लिम्बूले बताउनुभयो । अहिलेको जाडो मौसममा न्यानो स्विटर पाएपछि विद्यार्थी पनि हर्षित भएका छन् । विद्यालयको तर्फबाट भने सहयोगको कदर गर्दै समाजसेवी लिम्बूलाई प्रसंसापत्रद्वारा सम्मान गरिएको प्रधानाध्यापक इजम लिम्बूले बताउनुभयो ।