बेनी समाचारदाता
म्याग्दी (बेनी), मङ्सिर २ गते । म्याग्दीको बिकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बेनी–दरबाङ–ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने उक्त सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारको समपूरक अनुदान र गण्डकी प्रदेश सरकारको बजेट गरी कुल एक अर्ब १७ करोड ८९ लाख रुपियाँ लागतमा उक्त आयोजना सञ्चालन गरिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दुई वटा ठेक्कामार्फत उक्त सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।
सङ्घीय सरकारको समपूरक बजेटबाट पहिलो प्याकेजको दरबाङदेखि धारापानीसम्म सात किलोमिटर र सिवाङको झिनडाँडादेखि गाउँपालिका केन्द्र मुनासम्म छ किलोमिटर गरी कुल १३ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे हुने छ । यो आयोजनाका लागि ९२ करोड ९० लाख रुपियाँ लागत अनुमान तयार भएकोमा ५२ करोड ८० लाख ५३ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
यस आयोजना सम्पन्न गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ५०÷५० प्रतिशत लागत साझेदारी हुने छ । सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि पूर्वाधार विकास कार्यालयले सक्षम सिम्रन जेभी पोखरासँग २०८४ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०८२ असार ११ गते ठेक्का सम्झौता गरिसकेको छ ।
यो खण्ड अन्तर्गत दरबाङदेखि धारापानी गाउँसम्मको सडक चौडा गर्ने, नाली निर्माण, ग्राभेललगायतका काम दुई वर्षअघि नै भएकाले यसपालिको ठेक्कामार्फत कालोपत्रे र बाँकी स्थानमा सडक ढलानको काम हुने छ ।
सिवाङको झिनडाँडादेखि गाउँपालिका केन्द्र मुनासम्म सडक फराकिलो पार्ने, घुम्ती सुधार, नाली निर्माणलगायतका पूर्वाधार निर्माण गरी सडक कालोपत्रे र ढलान गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार यो योजनामा तीन किलोमिटर सडक ढलान र बाँकी स्थानमा आस्फाल्ट प्रविधिको कालोपत्रे हुने छ ।
सडक स्तरोन्नतिका लागि मजदुर र उपकरणसहित कार्यस्थलमा निर्माण व्यवसायी परिचालन भएको छ । यो आयोजनाका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्षमा २३ करोड २२ लाख रुपियाँ प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
त्यसै गरी गण्डकी प्रदेश सरकारको बजेटबाट आयोजनाको दोस्रो खण्डमा पर्ने धारापानी गाउँदेखि झिनडाँडासम्मको छ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे र ढलान गर्नका लागि २४ करोड ९९ लाख रुपियाँ लागत अनुमान तयार भएको उक्त आयोजना १४ करोड ६१ लाख ६१ हजार रुपियाँमा ठेक्का सम्झौता थियो ।
२०८३ भदौभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०८१ जेठ २० गते रामसागर–बिएस–धवलागिरि–बिके–एसके जेभीसँग ठेक्का सम्झौता भएको यो आयोजनामा अहिलेसम्म ७० प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले सडक पूर्वाधार निर्माणको काम सकेर कालोपत्रे र ढलानको काम सुरु गरेको छ । योजना अन्तर्गत बस्तीस्तरमा आस्फाल्ट प्रविधिको कालोपत्रे, उकालो स्थानमा ढलान र अन्य स्थानमा ग्राभेल हुने छ । यो आयोजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट चालु आवमा चार करोड ४९ लाख रुपियाँ प्राप्त भएको कार्यालयले जनाएको छ । जिल्लाको विकट गाउँपालिका केन्द्रसम्म नै सडक स्तरोन्नति गर्ने यस कार्यालयका लागि ठुलो आयोजना भएकाले कार्यालयका तर्फबाट प्राविधिक जनशक्ति परिचालन गरी अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । ठेक्का लगाएका दुई वटा प्याकेज आगामी २०८४ को भदौसम्म सम्पन्न भएमा दरबाङदेखि गाउँपालिका केन्द्र मुनासम्मको सडक कालोपत्रे भई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।
जिल्लाको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने उक्त सडक आयोजनामा सङ्घीय समपूरक र गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको ठुलो बजेट भएकाले तोकिएको समयभित्र सडक निर्माण भएमा यस क्षेत्रकै आर्थिक र सामाजिक विकासमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको गण्डकी प्रदेश सभामा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य रेसमबहादुर जुग्जालीले बताउनुभयो । धवलागिरि गाउँपालिकाको केन्द्र मुना पुगेको सडकलाई जलजलादेखि बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्न सकेमा त्यस भेगका सर्वसाधारणलाई पोखरा–काठमाडौँ आवतजावत गर्न मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर छोटो पर्ने छ ।
बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरबाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा यसअघि नै १८ किलोमिटर सडक कालोपत्रे भएको छ । गाउँपालिका केन्द्र मुनासम्म सडक निर्माण भएमा भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रको विकासमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।