• २ मंसिर २०८२, मङ्गलबार

गोली हान्नेलाई कारबाही गर्न परिवारको माग

blog

पीडामा रहेको गौरव जोशीको परिवार । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी 

धनगढी, मङ्सिर २ गते ।  मुलुकको सत्ता नै परिवर्तन गर्ने गरी जेनजी आन्दोलन भएको दुई महिना बितिसकेको छ । बुढेसकालको एक्लो सहारा गुमाएका जोशी परिवारको आँसु अझै रोकिएको छैन । छोरा गुमाएको पीडा त यो परिवारलाई छँदै छ । गोली हान्न लगाउनेलाई अहिलेसम्म कारबाही नहुँदा थप चिन्ता बल्झिएको छ । 

घरको गौरव गुमाएपछि कैलालीको धनगढी उपमहानगरपालिका–५, तारानगरमा रहेको जोशी निवास सुनसान छ । घरमा रहेका वासुदेवका चार जना परिवार गौरवलाई सम्झेर टोलाइरहन्छन् । ‘हाम्रा छोराछोरीको मूल्य १५ लाख रुपियाँ हो त ? रुपियाँ होइन हामीलाई न्याय चाहिएको छ ।’ जेनजी सहिद गौरव जोशीका ७६ वर्षीय वृद्ध बुवा वासुदेवको चित्कार हो यो । 

गहभरि आँसु झार्दै गौरवका बुवाले भन्नुभयो, “धनगढीको ऐश्वर्य क्याम्पसमा विज्ञान विषयमा ७६ प्रतिशत अङ्क प्राप्त गरेर पास भएपछि छोरालाई इन्जिनियर पढाउने मेरो चाहना थियो । इन्जिनियर पढाउन १४/१५ लाख कहाँबाट जुटाउनुहुन्छ भनेर विदेश जाने तयारीमा तीन वर्ष बिताएको छोरो देशको लागि सहिद बन्यो ।” 

जोशीका अनुसार विज्ञान सङ्कायबाट कक्षा १२ पास गरिसकेपछि २३ वर्षीय गौरव विदेश जाने सपना बोकेर काठमाडौँ पस्नुभएको थियो । तीन वर्षदेखि उहाँले बेलायत जाने तयारी गर्दै आउनुभएको थियो तर भिसा लागेको थिएन । उहाँ भन्नुहुन्छ, “भिसा नलाग्दा छोरा डिप्रेसनमा जान्छ कि भन्ने हामीलाई डर थियो, तर जेनजी आन्दोलनमा सहिद बनेर हामीलाई सहिदको परिभाषा दिएर गयो ।” 

भदौ २४ गते काठमाडौँ आन्दोलनका क्रममा माइकमा बोल्दाबोल्दै गौरवलाई गोली हानिएको थियो । टाउकैमा गोली हानेर हत्या गर्नेलाई सिधै कारबाही हुनुपर्नेमा अहिलेसम्म नहुँदा आफूहरूले न्याय नपाएको उहाँको भनाइ छ । सरकारले सहयोग स्वरूप १५ लाख रुपियाँ दिए पनि त्यो रुपियाँले जेनजी सहिद परिवारलाई न्याय नमिल्ने जोशीको भनाइ छ । उहाँले थप्नुभयो, “रुपियाँ दिएर न्याय हुन्छ भने छोरा मार्नेको टाउकोमा गोली हानेर हामी पनि १५ लाख फिर्ता गर्न तयार छौँ । हामीलाई न्याय चाहियो । दोषी जो भए पनि कारबाही हुनु प¥यो । नेता भनेर हुँदैन ।” 

कमजोर आर्थिक अवस्था 

सहिद गौरव जोशीको परिवारको जग्गा जमिन र आय स्रोत केही छैन । बैतडीको दोगडाकेदारबाट धनगढी झरेपछि जेनतेन जोडेको घरबासमा चारकोठे पक्की घर छ । सम्पत्तिको नाममा त्यही मात्रै हो । 

गौरवका बुवा २०३२ सालदेखि २०४२ सम्म वन कार्यालयमा अस्थायी कर्मचारीका रूपमा काम गर्नुभएको थियो । त्यो बेला पुनर्वास कम्पनी अन्तर्गत बस्ती बसाउन रुख कटानका लागि वनले कर्मचारी राखेको थियो । त्यहिबेला १० वर्ष जागिर गर्नुभएको थियो । रुख कटानको काम सकिएपछि उहाँको जागिर पनि सकियो । त्यसपछि भाइहरूसँग सरसापटी माग्दै गुजारा गर्दै आउनुभएको छ । 

विदेश गएर कमाउँछु र पाल्छु भन्ने छोरा पनि सहिद भएपछि जोशी परिवारमा समस्याको घाउ थप बल्झिएको छ । गौरव जोशीका दुई आमा र दुई दिदीबहिनी हुनुहुन्छ । वासुदेवकी जेठी श्रीमतीबाट एक छोरीको मात्रै जन्म भएपछि थप सन्तानका लागि उहाँले कान्छी श्रीमती भित्र्याउनुभएको थियो । कान्छी श्रीमती मायाबाट छोरी आयशा र गौरवको जन्म भएको जोशीको भनाइ छ । जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी आयशा एयर होस्टेज अध्ययन पूरा गरेर कामको खोजीमा हुनुहुन्छ । घरमा कमाउने कोही नरहेका कारण रोजीरोटीको ठुलो समस्या रहेको गौरवका बुवा वासुदेव बताउनुहुन्छ । उहाँले सहिद परिवारलाई पेन्सनको व्यवस्था भइदिएको भए जीवन काट्न केही सहज हुने आशा व्यक्त गर्नुभएको छ । उहाँले थप्नुभयो, “मेरो सम्पत्तिको नाममा यही घर मात्रै हो । छोरीको विवाह मैले यही घर बेचेर गर्नु पर्छ । त्यसपछि हामी कहाँ जाने ?”

गौरव पीडा र गर्व 

गौरव जोशीका आमाबुवालाई छोरा गुमाएको जति पीडा छ, त्यति गर्व पनि । मुलुकको हितका लागि छोराले बलिदानी गरेको परिवारको बुझाइ छ । एक दिनमै पूरै देश जल्ने घटनाले नेता सुध्रिनुपर्ने वासुदेवको ठम्याइ छ । उहाँ भन्नुहुन्छ, “मुलुकको अवस्था देख्दा एक न एक दिन यस्तो विस्फोट हुन्छ भन्ने लाग्थ्यो । त्यो यही बेला भयो । मेरो छोरा गौरवले पनि देशका लागि गौरव राखेर गयो ।” 

उहाँले जेनजी आन्दोलनको मर्म अनुरूप सरकार चल्नुपर्ने र आगामी निर्वाचनबाट जेनजीकै सरकार बन्नुपर्ने अपेक्षा राख्नुभएको छ । जोशीले भन्नुभयो, “फेरि पनि तिनै पुरानै नेता जिते भने देश बन्दैन । देश छोडेर हामी सबै गए हुन्छ ।” उहाँले धनगढीको जेनजी मार्गमा छोरा गौरवको सालिक निर्माणका लागि जग्गा उपलब्ध गराउन धनगढी उपमहानगरपालिकासँग माग गर्नुभएको छ ।