• २ मंसिर २०८२, मङ्गलबार

बागलुङ समाज जापानद्वारा रक्तसञ्चार सेवा केन्द्रलाई १३ लाख सहयोग

blog

रक्तसञ्चार प्रयोगशाला निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी बागलुङलाई सहयोग रकम हस्तान्तरण गर्दै बागलुङ समाज जापानको टोली । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), मङ्सिर २ गते ।
रोजगारीका लागि जापानमा रहेका बागलुङेहरुले जिल्लामा रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणमा सहयोग गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले सोमबार १३ लाख ५० हजार रुपियाँ सहयोग गरेको हो । बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष सापकोटाले जन्मभूमिप्रतिको जिम्मेवारी र मानवीय सेवाको भावनाअन्तर्गत सहयोग गरिएको बताउनुभयो । उहाँले रगत अभावकै कारण बिरामीलाई बागलुङबाट अन्यत्र रिफर गर्न नपरोस् भन्ने चाहनाले बागलुङ समाज जापान एकताबद्ध भएको बताउनुभयो ।

“रक्तसञ्चार सेवा केन्द्रको काम नजिकबाट हेरिरहेको छौं । मानिसको जीवन बचाउनेभन्दा ठुलो मानविय कार्य केही हुँदैन्,” उहाँले भन्नुभयो, “रगत अभावकै कारण बिरामीलाई अन्यत्र जिल्ला रिफर गर्न नपरोस् भन्ने चाहनाले प्रयोगशाखा निर्माणमा हातेमालो गरेका हौं ।”

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले धौलागिरी प्रादेशिक अस्पताललाई चुस्त राख्नका लागि पनि रक्तसञ्चारको सेवा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले विभिन्न निकायको सहयोगले अस्पतालको सेवा प्रवाहको निम्ती ठुलो राहत भएको बताउनुभयो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ बागलुङका हरेक क्षेत्रको विकासका निम्ती विदेशमा रहेका बागलुङेले हातेमालो गरेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यका अनुसार सहयोग रकम प्रयोगशाला निर्माण र आवश्यक उपकरण खरिदमा प्रयोग गरिनेछ । आर्थिक अभावका कारण विगत तीन वर्षदेखि थन्किएको रातो र सेतो रगत छुट्ट्याउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) अब करिब दुई महिनाभित्रै सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, बागलुङ नगरपालिका लगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआइ थन्किएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले सुरुमै रु. २३ लाख मूल्यको मुख्य मेसिन उपलब्ध गराए पनि त्यसपछिका उपकरण तथा सामग्री खरिदमा झण्डै एक करोड खर्चिए पनि सेवा सञ्चालनमा आउन सकेको छैन । मेसिन सञ्चालनका लागि कोठा निर्माण, बिजुली, एसी जडान तथा तालिमप्राप्त जनशक्तिको अभाव मुख्य चुनौती रहेको सभापति आचार्यले बताउनुभयो । बागलुङ समाज जापानको सहयोग यस कार्यलाई टुङ्गोमा पु¥याउन महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

धवलागिरी क्षेत्रमै पहिलोपटक उक्त उपकरण ल्याइए पनि सञ्चालनमा नआएको कारण सेतो रगत आवश्यक परेका बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको रक्तसञ्चार सेवा केन्द्रका इञ्चार्ज गुरुदत्त शर्माले बताउनुभयो । डेङ्गु, कोरोना, क्यान्सरलगायतका जटिल बिरामीका लागि सेतो रगत अनिवार्य हुने भएकाले मेसिन सञ्चालनले स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउने शर्माले बताउनुभयो ।