• २ मंसिर २०८२, मङ्गलबार

गाउँब्लक जग्गा फुकुवा माग गर्दै धर्ना

blog

लहान मालपोत कार्यालयअगाडि गाउँब्लक जग्गा कार्यान्वयनका लागि गाउँब्लक सङ्घर्ष समिति लहानका अगुवा धर्नामा । तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान, मङ्सिर २ गते । लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक सङ्घर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्नामा बसेको छ । लहान नगरपालिकामा करिब सात हजारको हाराहारीमा गाउँब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीय सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । 

जग्गा फुकुवा कार्यान्वयन प्रव्रिmया अगाडि नबढ्दा बैङ्कबाट वित्तीय कारोबार, जग्गा बिक्रीवितरणलगायतका कार्य ठप्प भएको लहान–९ का नेपाली साहले बताउनुभयो । उहाँले समस्यालाई समाधान गर्न लहान नगरपालिका–६ का पूर्ववडाध्यक्ष अरुण केसीको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो । 

मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला नियमित कार्यालयमा नबस्नाले सङ्घर्ष समितिसँग विगतमा भएको सहमति अनुसार जग्गा अद्यावधिक गर्न कर्मचारी अभाव देखाएपछि लहान नगरपालिकाले कम्प्युटर र दुई जना कर्मचारीसमेत व्यवस्थापन गरिदिए पनि आलटाल गरिरहेकको सङ्घर्ष समितिका संयोजक अरुण केसीले बताउनुभयो । उहाँका अनुसार कात्तिक ३० गते धर्ना कार्यव्रmम, मङ्सिर १ गते रिले अनशन र २ गतेदेखि आमरण अनशनमा बस्ने कार्यव्रmम रहेको छ । 

गाउँब्लक जग्गा फुकुवा कार्यान्वयनका लागि मन्त्रीपरिषद्को निर्णयसमेत भइसकेकाले यसको कार्यान्वयनमा मालपोत कार्यालय लहानका प्रमुख निरौलाले किन आलटाल गरिरहेको बुझ्न नसकेर दबाब दिन आन्दोलन गर्नु परिरहेको लहान–५ का नेपाली कांग्रेसका नेता रामसुन्दर चौधरीले बताउनुभयो । यस समस्यालाई समाधान गर्नका लागि प्रशासनिक पहल गर्न सबै जानकारी लिइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मालपोत कार्यालय प्रमुख निरौलासँग छलफल गरेर समस्याको चाँडै समाधान गरिने बताउनुभयो ।