काठमाडौँ, मङ्सिर १ गते । समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउ चिकित्सकले आग्रह गरेका छन् ।
वल्ड प्रिम्याचुरिटी डेको अवसरमा आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. एली प्रधान रञ्जितकारले यस्तो आग्रह गर्नुभएको हो ।
समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ समय अगावै जन्मिएका शिशुमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुने हुँदा भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । परीक्षण नगराउँदा जोखिम बढ्दै जान्छ ।”
नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा समस्या देखिन सक्ने बाल आँखा रोग विशेषज्ञ डा.सिर्जना अधिकारी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “ यस्ता बच्चाका आँखाको पर्दामा रगत जम्ने गर्छ यदि समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”
डा.प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ ।
उहाँले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने जानकारी दिनुभयो ।