• १ मंसिर २०८२, सोमबार

राप्ती नदी सरसफाइ महाअभियान सुरु

blog

हेटौँडाको राप्ती तटीय क्षेत्रमा सरसफाइ । तस्बिर: अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर १ गते । हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई “राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुहरूको बाँच्ने आधार” भन्ने मूल नारासहित प्रारम्भ गरिएको हो ।

तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा हेटौँडा–१०, राप्ती खोलाको पुल मुनिबाट अभियानको थालनी गरिएको हो । डिभिजन वन कार्यालय मकवानपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक वन, हेटौँडा उपमहानगरपालिका, गोरक्षश्वर मन्दिरका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको संयुक्त सहभागितामा नदी किनार आसपासको फोहर सङ्कलन गरी महाअभियान अघि बढाइएको छ ।

डिभिजन वन अधिकृत वसन्तराज गौतमका अनुसार पहिलो दिनमै करिब दुई ट्याक्टर फोहर सङ्कलन गरिएको छ । अभियान हेटौँडाबाट सुरु भई चितवनका विभिन्न स्थानहरूमा पनि निरन्तर जारी छ ।

जथाभाबी फोहर नदीमा फालिँदा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसोवास गर्ने वन्यजन्तुहरू बढी प्रभावित हुँदै आएका छन् । प्लास्टिक तथा अन्य फोहरका कारण गोही, माछा लगायतका जलीय प्राणीहरू सङ्कटमा पर्दै गइरहेका छन् भने चितवन क्षेत्रको पर्यटकीय सौन्दर्यमा समेत नकारात्मक असर परेको छ । हरिण–मृगले प्लास्टिक खाँदा स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको वन अधिकृत गौतमले बताउनुभयो ।

राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चराहरू, कच्छुवा, माछासहितका जलचर प्राणीहरूको मुख्य बसोवास क्षेत्र भएकाले प्रदूषणको बढ्दो असरले चिन्ता बढाएको छ । २०७३ माघ २३ गतेदेखि नदी सरसफाइ सुरु गरिए पनि २०७५ मङ्सिर १ गतेदेखि अभियानलाई सचेतनामूलक रूपमा विस्तार गरी अहिले महाअभियानको स्वरूप दिइएको अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो । 

डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीका अनुसार राप्ती नदी र आसपासका जलस्रोतलाई स्वच्छ राख्दै वन्यजन्तुका लागि सुरक्षित वासस्थान निर्माण गर्ने लक्ष्यका साथ महाअभियान सञ्चालन गरिएको हो । हेटौँडादेखि गोलाघाटसम्म निरन्तर सरसफाइ कार्य जारी रहने उहाँले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक फुर्वा दोर्जे लामाले जथाभावी फोहर फाल्ने प्रवृत्ति रोक्न स्थानीय तहदेखि नागरिक तहसम्म सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो 

सरसफाइ अभियानमा डिभिजन वन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल १४ नं. गण हेटौँडा तथा नेपाली सेना सुपारेटार ब्यारेकले सक्रिय सहकार्य गरेका छन् । मकवानपुरको हेटौँडाबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटसम्म बग्ने राप्ती नदी संरक्षण तथा सरसफाइ अभियानको प्रेरणाको रूपमा प्रत्येक वर्ष मङ्सिर १ गते राप्ती नदी संरक्षण दिवस मनाइँदै आएको छ ।

लेखक बाट थप