• १ मंसिर २०८२, सोमबार

पर्यटकको रोजाइमा मनास्लु हिमाल

blog

मनास्लु हिमालकाे लोभलाग्दो र मन लोभ्याउने मनोरम दृश्य । तस्बिर सौजन्य : सुरेन गुरुङ

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर १ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८१६३) मिटर पछिल्ला वर्षहरुमा पर्यटकको पहिलो रोजाइ बनेको छ ।

हिमालले आकाश चुमेको दृश्य, बरफले ढाकिएका पहाडका तहतह र छुट्टै गाउँबस्तीको सांस्कृतिक माहोलले यो क्षेत्रलाई (स्वर्गको टुक्रा) जस्तै भव्य गन्तव्यको रुपमा स्थापित गर्दै लगेको छ ।


मनास्लु सर्किटमा हालै देखिएको पर्यटकको भिडले दसैँ तिहारपछि पनि यो क्षेत्रमा उत्साह झनै चुलिएको छ । साहसिक यात्राको खोजीमा आएका विदेशी पर्यटकदेखि लिएर प्राकृतिक सौन्दर्यमा डुब्न चाहने आन्तरिक पर्यटकसम्म सबैको लागि मनास्लु हिमाल क्षेत्र आकर्षणको केन्द्र बनेको छ । 

मनास्लु हिमाल क्षेत्रमा प्रशान्त वातावरण, स्वाच्छ हावा, हिमाली बाटोमा गुञ्जिएका चर्च पूजा र स्थानीय आतिथ्य तथा परम्पराले आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ अनुभव दिएको आन्तरिक पर्यटक सुरेन गुरुङले बताउनुभयो । 


विगतका वर्षहरुमा भन्दा यो वर्ष मनास्लु सर्किटमा आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । उत्तरी गोरखाका होटेल, हाेमस्टे, गाइड सेवामा सकारात्मक प्रभाव पर्न थालेको छ । मनास्लु हिमालको प्राकृतिक जादुले यहाँ आउने जो कोहीलाई मोहित बनाउँछ । 

मनास्लु हिमाल क्षेत्र पुग्न निकै रहर थियो, म्याग्दीका पर्यटक सुरेन गुरुङले भन्नुभयो, ‘साँच्चै मनास्लु क्षेत्र त धर्तीको स्वर्गको टुक्रा जस्तै रहेकाले एक पटकको घुमाइले फेरि अर्को पटक घुम्ने इच्छाशक्ति जागृत भएकाे छ ।’

मनास्लु क्षेत्र केबल हिमाल मात्र होइन, संस्कृतिको जीवन्त सङ्ग्रहालय पनि हो, जहाँ सामागाउँ,  ल्हो, श्यामे र साम्दो जस्ता बस्तीसम्म पुग्दा पुरातन बौद्ध धर्मका चिहान, गुम्बा र परम्परागत संस्कृति जीवन्त रुप भेटिन्छ । यही संस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको सङ्गमले मनास्लु हिमाल क्षेत्रलाई गन्तव्यभन्दा विशिष्ट बनाएको छ । 

चुमनुब्री गाउँपालिकाले पर्यटकमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ट्रेल सुधार, सूचना केन्द्र स्थापना, र सुरक्षा व्यवस्थामा समेत ध्यान दिएर काम अघि बढाउँदै आएको छ । जोखिमयुक्त क्षेत्रमा रस्सी, बार र सङ्केत बोर्ड थपिएकोले पर्यटकलाई सहज र सुरक्षित ट्रेकिङ गन्तव्ययमा पर्न सक्ने ठुलो सम्भावना रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाइ छ । 

स्वर्गीय सौन्दर्य, सांस्कृतिक गहनता र साहसिक अनुभवको मिश्रणले भरिएको मनास्लु हिमाल क्षेत्र आज पर्यटकलाई आकर्षित मात्र गरिरहेको छैना,नेपालको हिमाली पर्यटनको स्तरलाई नयाँ उचाइमा पुर्‍याउँदै आएको छ । 


लेखक बाट थप