• ९ पुस २०८२, बुधबार

हिमाली गिद्धको सफल उद्धार : सुतीखोलाको वन क्षेत्रमा सुरक्षित छोडियो

blog

यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर १ गते ।
मनाङको चामे गाउँपालिका–३ को कोतो बजार क्षेत्रमा केही समयदेखि ओहोरदोहोर गर्दै बस्दै आएको एक हिमाली गिद्धको सफलतापूर्वक उद्धार गरिएको छ । करिब ८ महिनाको उमेर तथा अनुमानित १४ किलो तौल भएको उक्त गिद्ध अस्वाभाविक रूपमा बस्ती आसपास देखा परेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको समन्वयमा, चामे गाउँपालिका–३ का वडा अध्यक्ष, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा गिद्धलाई सुरक्षित रूपमा नियन्त्रणमै लिइएको हो । उद्धारका क्रममा गिद्धलाई कुनै चोटपटक नलागेको एक्याप मनाङले जनाएको छ ।

उद्धारपछि गिद्धलाई मनाङकै नासों गाउँपालिका–८ स्थित सुतीखोला क्षेत्रको घना वनमा लगेर प्रकृतिको स्वाभाविक वातावरणमा छोडिएको छ । सो क्षेत्र चराचुरुङ्गीका लागि सुरक्षित तथा अनुकूल आवास मानिने भएकाले गिद्धलाई त्यहाँ पुनर्स्थापित गरिएको एक्यापले जनाएको छ ।

संरक्षणकर्मीका अनुसार उक्त गिद्ध सम्भवतः भोजनको खोजीमा बस्ती नजिक आएको अनुमान गरिएको छ । गिद्ध संरक्षण नेपाल र एक्यापले नेपालमा गिद्धको सङ्ख्या घट्दै गएको अवस्थामा यस प्रकारका उद्धार कार्यहरू अत्यन्त महत्त्वपूर्ण हुने बताइएको छ ।

स्थानीयवासीले पनि गिद्धको सफल उद्धारप्रति खुसी व्यक्त गर्दै वन्यजन्तु संरक्षणप्रति सचेत रहनुपर्ने बताएका छन् । एक्याप मनाङले भविष्यमा पनि यस क्षेत्रका वन्यजन्तुको निगरानी तथा आवश्यक उद्धार कार्य निरन्तर जारी रहने जनाएको छ ।