• १ मंसिर २०८२, सोमबार

आगजनी र लुटपाटमा संलग्नको विगत खोज्दै प्रहरी

blog

गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा गरिएको आगजनी ।

चितवन समाचारचाता

चितवन, मंसिर १ गते । जेनजी समूहको आन्दोलनका व्रmममा भदौ २४ गते चितवनमा भएको तोडफोड र आगजनीका घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका अधिकांश आन्दोलनकारी यसअगाडि आपराधिक घटनासँग सम्बन्धित रहेको भेटिएको छ । 

सरकारी तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गरेको अभियोगमा नियन्त्रणमा लिएकाहरू यसअगाडि पनि प्रहरीको नियन्त्रणमा रहेका र अपराध कर्ममा संलग्न भएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले नियन्त्रणमा लिइएका अधिकांश व्यक्ति कुनै न कुनै घटनामा संलग्न भएको पाइएको जानकारी दिनुभयो । 

“नियन्त्रणमा रहेका व्यक्तिको पृष्ठभूमि अध्ययन गर्दा आपराधिक घटनामा यसअगाडि पनि संलग्न भएको पाएका छौँ । कुनैले केही समय सजाय पाएर निस्केका र कुनैले घटनामा संलग्न भएर तारिखमा छुटेकालगायतको संलग्नता रहेको छ,” उहाँले भन्नुभयो, “नियन्त्रणमा रहेका व्यक्तिलाई थप अनुसन्धानका लागि राखिएको र कानुन अनुसार कारबाहीका लागि प्रव्रिmया अगाडि बढाइएको छ ।”  

तोडफोड तथा आगजनी गर्ने, भिडलाई उक्साउने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने, हतियार खोस्नेलगायतका हिंसात्मक गतिविधिमा संलग्न रहेकामध्ये १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाको थप अनुसन्धान र प्रमाण जुटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेकामध्ये एक व्यक्तिले यसअघि तीन वटा मुद्दामा जेल सजाय भुक्तान गरेकोसमेत खुलेको छ । ती व्यक्तिलाई प्रहरीले भरतपुरस्थित भाटभटेनी सुपरमार्केटपरिसरमा रहेको एटिएम फुटाएको र जिल्लाका विभिन्न सरकारी कार्यालय तोडफोडमा संलग्न रहेको भिडियो प्रमाणका आधारमा पक्राउ गरेको  प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । ती व्यक्तिले ज्यान मार्ने उद्योगमा तीन वर्ष जेल सजाय भोगिसकेका थिए । त्यसअघि लागुऔषध र अभद्र व्यवहारमा कैद सजायसमेत भोगिसकेको देखिएको छ । 

अन्य व्यक्ति पनि विगतमा चोरी, लागुऔषध, अभद्र व्यवहारलगायतका मुद्दामा सजाय भोगेकाहरू रहेको प्रमुख पुरीले जानकारी दिनुभयो । पक्राउ परेका अन्यमा सुरक्षाकर्मीको हातहतियार खोस्ने, चोरी गर्ने, तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको क्षतिमा संलग्न रहेका छन् । अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको नाम भने नखुलाएको प्रवक्ता खनालले जानकारी दिनुभयो । “हामीले प्राप्त फोटो, भिडिओ तथा अन्य प्रमाणका आधारमा गहिरो गरी अनुसन्धान गरिरहेका छौँ । क्षति भएका कार्यालयको विवरण सङ्कलन गरेर अनुसन्धान गरिरहेका छौँ । तोडफोडमा संलग्नको विषयमा थप जानकारी प्राप्त भइरहेकोले नाम नखुलाएको हो,” प्रवक्ता खनालले भन्नुभयो । 

पव्रmाउ परेकालाई उनीहरूले गरेको आपराधिक गतिविधि हेरेर आपराधिक उपद्रव, अभद्र व्यवहार, चोरी, लागुऔषधलगायतका मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ । भदौ २४ गते चितवनको माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा तोडफोड गरिएको थियो । सबैभन्दा कम क्षति राप्ती नगरपालिकामा भएको थियो । जिल्ला प्रशासन, अदालत, सरकारी वकिलको कार्यालय, मालपोत, राजस्व, यातायात, जिल्ला समन्वय समिति, ट्राफिक प्रहरी, पूर्वाधार कार्यालय, सहरी विकास कार्यालयलगायतका मुख्य सरकारी कार्यालयमा तोडफोड तथा  आगजनी गरिएको थियो ।