नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर १ गते । बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् ।
इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । इमेज सहकारीपीडित र देवकुमार नेपालीबिच बचत फिर्ता गर्ने सहमति हुनेक्रममा बिचमा सहकारी माफिया र लुटेराको प्रवेश गरी बचतकर्तालाई दुःख दिने काम भएकाले उनीहरुको भण्डफोर गर्नका लागि आन्दोलित भएको इमेजपीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो ।
“देवकुमार नेपालीले आफ्नो चलन अचल सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए, घर जग्गा कसै न कसैले त लिनप¥यो भन्ने कुरा भयो । त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो” कार्कीले भन्नुभयो “ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले अर्को एक जना आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफुहरुले फिर्ता गर्नेगरी हामीहरुको समेत उपस्थितिमा देवकुमारसँग कागज गरेका थिए, अहिले बचतकर्तालाई रकम फिर्ता गर्ने बेलामा भागेर अमेरिका पुगेका छन् ।”
झण्डै ७० करोडको सम्पत्ति २२ करोडमा सकारेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि अहिले रकम नदिइ दुःख दिएको कार्कीको भनाइ छ । बागलुङमा एक हजार पाँच सय ७४ जना पीडितले उजुरी गरेकोमा एक हजार चार सय ६९ जनाले मिलापत्र गरिसकेको तर रकम फिर्ता नपाएको उहाँले बताउनभुयो । भागेर अमेरिका पुगेपछि मैले बैंकबाट सकारेको हो मैले किन तिर्ने भन्ने गरेको र उल्टो पीडितले बन्द गराएको घरको क्षतिपूर्ति माग गर्दै पीडितलाई मुद्दा लगाउने काम भएको उहाँले बताउनुभयो । माफियाले दिएको दिएको पीडाका कारण अहिलेसम्म चार जना बचतकर्ताहरुले ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा पुगेका नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले ठुला व्यक्तिहरु नै सहकारी ठगीमा संलग्न भएको भन्दै कुनै पनि शर्तमा बचतकर्ताको रकम फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी पीडितको आन्दोलनमा आफ्नो ऐक्यवद्धता समेत जनाउनुभएको थियो । पीडितहरुले नाराबाजीसहित बागलुङ बजार परिक्रमा गरेका थिए ।
सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफिया मुर्दावाद, सहकारीको सम्पत्ति खाने माफियाहरु होसियार, घुसखोरी कर्मचारी मुर्दावाद लगायतका नारा लगाउँदै उनीहरुले बागलुङ बजारको परिक्रमा गरेका थिए ।