चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाममा स्थानीय बिदा दिएको छ । याक्थुङ लिम्बूको चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा नगरपालिकाले सोमबार स्थानीय बिदा दिएको हो ।
फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै चासोक तङ्नामको अवसरमा सोमबार एकदिन बिदा दिएको उल्लेख गर्नुभएको छ । पौडेलका अनुसार आइतबार बसेको नगर कार्यपालिकाको ७६ औं बैठकले चासोक तङ्नाममा बिदा दिने निर्णय गरेको हो ।
स्थानीय बिदामा नगरपालिका कार्यालय, सबै वडा कार्यालय, नगरपालिकाभित्रका शिक्षण तथा अन्य संस्थाहरुको सेवा बन्द हुने छ । त्यस्तै अत्यावश्यकबाहेक स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा पनि बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।
यता फुङ्लिङमा चासोक तङ्नाम प्रकृति पूजाआजासहित भव्य साङ्गीतिक लगायतका कार्यक्रम गरेर मनाइने याक्थुङ चुम्लुङ नेपालकी जिल्ला अध्यक्ष हाङ्माया लेछर्बोले जानकारी दिनुभयो । लिम्बू समुदायभित्र युमा धर्म मान्नेहरुले मङ्सिर १ गते चासोक तङ्नाम मनाउँछन् भने किराँत धर्म मान्नेले मङ्सिर अर्थात धान्य पूर्णिमाको दिन चासोक तङ्नाम वा उधौली पर्व मनाउने गरेका छन् ।