• १ मंसिर २०८२, सोमबार

रेमिट्यान्स बढ्दा थुप्रियो डलर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । विदेशमा रहेका नेपालीले पठाउने रकम बढ्दा मुलुकमा डलरको सञ्चिति निरन्तर बढिरहेको छ । निर्यातमा देखिएको उल्लेख्य वृद्धिले मुलुकभित्र डलर भित्र्याउन थप सहयोग पुगेको तथ्याङ्कले देखाउँछ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) सम्म २१ अर्ब २१ करोड डलर (२९ खर्ब ७९ अर्ब रुपियाँ) बराबरको विदेशी मुद्रा सञ्चिति छ । कुल विदेशी मुद्रामध्ये २४ प्रतिशत भारतीय रुपियाँको हिस्सा छ ।  

चालु वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति डलरमा ८.७ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको सोही अवधिसम्म १९ अर्ब ५० करोड डलर बराबरको सञ्चिति थियो । कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग २६ खर्ब ६७ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । बाँकी तीन खर्ब १२ अर्ब रुपियाँ बैङ्क तथा वित्तीय संस्थासँग छ । 

मुलुकसँग रहेको विदेशी मुद्राको सञ्चितिले विद्यमान आयात प्रवृत्तिको अनुपातमा १६ महिना बराबरको वस्तु तथा सेवा आयात गर्न सकिन्छ । तीन वर्षअघि मात्रै मुलुकसँग विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा एक दर्जन वस्तुको आयातमा सरकारले बन्देज लगाएको थियो । सो अवस्थामा मुलुकसँग साढे छ महिना बराबरको आयात धान्न सक्ने सञ्चिति थियो । यद्यपि विदेशी मुद्राको सञ्चिति सकिएर टाट पल्टिएको श्रीलङ्काको अवस्थासँग तुलना हुन थालेपछि केही वस्तुको आयातमै बन्देज लगाउने निर्णय सरकारले गरेको थियो । यद्यपि यस अवधिमा मुलुकले सञ्चिति अभावको परिस्थिति सामना गर्नु परेन । 

खुम्चिएको सञ्चितिलाई त्यसयता रेमिट्यान्सले भरथेग गर्दै आएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकम बढ्दा सञ्चिति निरन्तर थुप्रिन थालेको राष्ट्र बैङ्कको प्रतिवेदनले देखाउँछ । प्रतिवेदन अनुसार चालु वर्षको तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले बढेर पाँँच खर्ब ५३ अर्ब रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स केवल ११.९ प्रतिशतले बढेको थियो । चाडपर्वलक्षित रेमिट्यान्स आप्रवाह अत्यधिक बढ्दा पनि विदेशी मुद्राको सञ्चिति थप बढाएको हो । 

यस अवधिमा वैदेशिक रोजगारीका लागि बाहिरिनेको सङ्ख्या पनि उल्लेख्य बढेको छ । प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या गत वर्षको तुलनामा १३ हजारले बढेर एक लाख २३ हजार पुगेको छ । त्यस्तै यस अवधिमा ७७ हजार २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । 

बढ्दो रेमिट्यान्स र निर्यातले चालु खातालाई निरन्तर बचतमा राख्न सहयोग पु¥याएको छ । तीन महिनामा चालु खाता दुई खर्ब ३७ अर्ब रुपियाँले बचतमा रहेको तथ्याङ्क छ । त्यस्तै शोधनान्तर स्थिति पनि दुई खर्ब ६४ अर्ब रुपियाँले बचतमा देखिन्छ । गत वर्षको तीन महिनासम्म यस्तो बचत एक खर्ब ८४ अर्ब रुपियाँ थियो । 

मूल्यवृद्धि न्यून

असोजमा मूल्यवृद्धिदर अत्यन्त न्यून अर्थात् १.४७ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष असोजमा यस्तो दर ४.८२ प्रतिशत थियो । 

खाद्य तथा पेय पदार्थको मूल्य घट्दा समग्र मूल्यवृद्धि न्यून देखिएको छ । असोजमा यो समूहको वृद्धिदर २.५४ प्रतिशतले ऋणात्मक अर्थात् गत वर्षको भन्दा अझ घटेको छ । गैरखाद्य तथा सेवा समूहको भने ३.८० प्रतिशतले बढेको देखिन्छ । प्रदेशगत हिसाबले सबैभन्दा धेरै कर्णाली प्रदेशमा १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.६९ प्रतिशत मूल्यवृद्धि रहेको छ । 

कर्जा प्रवाह सुस्त 

बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा सुस्तता आएको छ । राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले मात्र बढेको छ । जबकि गत वर्षको सोही अवधिमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको थियो । 

कर्जा प्रवाह नबढ्दा तरलता 

अत्यधिक भई ब्याजदर सस्तिन थालेको छ । चालु वर्षसमेत गरेर कर्जा प्रवाह ५५ खर्ब ८० अर्ब रुपियाँ पुगेको छ । 

कर्जा प्रवाह कम भए पनि निक्षेप भने गत वर्षको तुलनामा तीन प्रतिशत अर्थात् दुई खर्ब १८ अर्ब रुपियाँले बढेको छ । प्रतिवेदन अनुसार चालु वर्षसहित बैङ्क तथा वित्तीय संस्थासँग ७४ खर्ब ८२ अर्ब रुपियाँ निक्षेप जम्मा छ ।