गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको भावना अनुरूप र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न आफूमातहतका निकायलाई निर्देशन दिनुभएको छ । आइतबार गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित वरिष्ठ कर्मचारी टोली (एसएमटी) बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले ‘एक्टिभिस्ट’ जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्नसमेत निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको सरकार निर्वाचनका लागि बनेको सरकार भएकाले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधि प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागितामूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी वहन गर्न निर्देश गर्दछु ।”
मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ–आफ्नोमातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गबाट सम्पादन गर्न निर्देशन दिँदै कर्मचारीले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभयो ।
उहाँले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिए मात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्नसमेत मातहतका निकायलाई निर्देशन दिनुभयो ।
बैठकमा मन्त्री अर्यालले घाइतेको राहत कार्यविधि छिट्टै टुङ्ग्याउने र जेनजी घाइतेलाई फिल्डमै राहत कार्ड वितरणमा गर्नसमेत आदेश दिनुभयो ।
गृह सचिव रामेश्वर दङ्गालले मन्त्रालयले र आफूमातहतका कर्मचारीले गर्नुभएको कार्यसम्पादनमा आफू सन्तुष्टै रहेको र मन्त्रालयको जिम्मवारी समालेपछि दर्जन बढी नियमावली जस्तै, राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिनुभयो ।
एनपिएलको सुरक्षा चुस्त राख्नू
यसैबिच मन्त्री अर्यालले सोमबारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिनुभएको छ । उहाँले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपिएलको सुरक्षा तयारीबारे जानकारी लिनुभएको हो ।
उहाँको सचिवालयका अनुसार मन्त्री अर्यालले बैठकमा क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुत र दुरुस्त हुन जरुरी छ, सोही अनुसार प्रबन्ध मिलाउनुहोला ।”
यसअघि पनि एनपिएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबैमा आग्रह गरिसकेको छ । क्यानका सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गर्नुभएको थियो ।