• ३० कात्तिक २०८२, आइतबार

बागलुङमा 'मेयर कप' फुटबल हुने

blog

मेयर कप फुटबल खेल हुने बाङ्ेचाैर खेल मैदान । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक ३० गते । बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मङ्सिर १४ देखि १८ गतेसम्म सञ्चालन गर्नेगरी ‘मेयर कप’ फुटबल प्रतियोगिताको तयारी गरिएको हो ।

बागलुङ नगरपालिका वडा १ रामरेखास्थित बाङ्गेचाैर खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी सुरु गरिएको खेल संयोजक सुदीप गौतमले बताउनुभयो । नगरपालिका स्तरीय प्रतियोगितामा बढीमा दस टिम सहभागी हुने गौतमले जानकारी दिनुभयो ।

खुला प्रतियोगिता भएकाले देशभरका जुनसुकै नगरपालिकाले पनि आफ्नो आधिकारिक टिम पठाउन सक्नेछन् । संयोजक गौतमका अनुसार आयोजक बागलुङ नगरपालिकाको दुई टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको मेयर कप फुटबल प्रतियोगिता यस वर्षदेखि पुनः गर्ने गरी तयारी थालिएको गौतमले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । उपविजेतालाई २ लाख २ हजार २ सय २२ रुपियाँ पुरस्कार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १० हजारका दरले पुरस्कार प्रदान गरिने संयोजक गौतमले जानकारी दिनुभयो ।

यसैबीच, आगामी पुसको पहिलो साता बागलुङमा गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको संयोजनमा गण्डकी प्रदेश सरकारले खेल खेलाउने भएको हो । 

राष्ट्रपति रनिङ शिल्ड सुरु भएको डेढ दशकपछि पहिलो पटक बागलुङमा प्रदेशस्तरीय खेल हुन लागेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलले त्यसअघि पालिका र जिल्लास्तरीय खेलकुद प्रतियोगिता गरिसक्ने लक्ष्य राखिएको बताउनुभयो । खेलका लागि आर्थिक व्यवस्थापन गण्डकी प्रदेशले गर्नेछ भने व्यवस्थापकीय काम समितिले गर्नेछ ।