अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २८ गते । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दी जिल्लामा ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र निर्धारा गर्ने सिफारिस गरेको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत बिमल गौतमले दिएको जानकारी अनुसार निर्वाचनको तयारी सुरू भएको छ । मतदाता सङ्ख्याको आधारमा पछि मतदान केन्द्रको सङ्ख्या निर्धारण गरिएको हो । म्याग्दीमा वि.सं. २०७९ सालमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए ।
प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेका थिए । तर यस पटकको तथ्य हेर्दा असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार करिब एक हजार छ सय मतदाता घटेर ८४ हजार पाँच सय २० जना कायम भएको थियो । यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेकाले केही मतदाता बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।
फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै म्याग्दीमा पाँच सय ५४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दैनिक नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । हालसम्म पुरूष तीन सय ५० र महिला दुई सय चार जना मतदाता थपिएको निर्वाचन अधिकृत बिमल गौतमले बताउनुभयो । नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै छन् । वैदेशिक रोजगारीमा गएका कारण विगतमा छुटेका मतदाताहरु पनि यस पटक नामावली दर्तामा आएको पाइएको निर्वाचन अधिकृत गौतमको भनाइ छ । नयाँ मतदाता नामावली सङ्कलनसँगै हालसम्म २८ मतदाताको क्रुटि सच्चाइएको छ भने ४६ जनाको ठाँउसारी गरिएको छ ।