मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, कात्तिक २८ गते । बागमती प्रदेशका १० जिल्लामा विपत्का कारण धानबालीमा ठुलो क्षति पुगेको छ । असोज १८ देखि २० गतेसम्मको अविरल वर्षा र ‘मोन्था चक्रवात’ को प्रभावले धान खेतीमा व्यापक असर पुर्याएको हो ।
प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष कुल पाँच हजार ४६५.३५ हेक्टर धान खेती प्रभावित भएको छ भने करिब १२ हजार २१४.२६ मेट्रिक टन धान नष्ट भएको छ । आर्थिक मूल्यमा रूपान्तरण गर्दा यो क्षति २२ करोड २४ लाख रुपियाँ बराबरको रहेको अनुमान गरिएको छ ।
यो वर्ष सबैभन्दा बढी धान क्षति नुवाकोटमा भएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटमा मात्रै तीन हजार १२८.५८ हेक्टरमा लगाइएको धान खेती नष्ट हुँदा पाँच हजार ८७.२१ मेट्रिक टन धानबाली नष्ट भएको छ । यसबाट किसानलाई करिब एक करोड ८३ लाख रुपियाँ बराबरको नोक्सानी पुगेको छ ।
यसै गरी रामेछापमा १३३.१० हेक्टर धानखेती प्रभावित हुँदा ५१४.१० मेट्रिक टन धान नष्ट भएको र किसानले एक करोड ६८ लाख रुपियाँ बराबरको क्षति बेहोरेका छन् । सिन्धुलीमा एक हजार ९८ हेक्टर क्षेत्रफलमा धान खेती नष्ट भई तीन हजार ५८० मेट्रिक टन धानबाली घटेको छ । यस जिल्लामा मात्रै एक करोड १७ लाख रुपियाँ बराबरको क्षति पुगेको छ । दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धान खेती नष्ट हुँदा दुई हजार ३२४.५१ मेट्रिक टन उत्पादन ह्रास भएको छ । जसबाट ५४ लाख रुपियाँ बराबरको आर्थिक क्षति अनुमान गरिएको छ । यस्तै धादिङमा ७९ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा २६९.५० मेट्रिक टन धान नष्ट हुँदा ८६ लाख रुपियाँ बराबरको नोक्सानी भएको छ । यसै गरी प्रदेशको सिन्धुपाल्चोकमा १७ हेक्टरमा लगाइएको धान खेती प्रभावित हुँदा ४२.१२ मेट्रिक टन धान नष्ट भएको र १३ लाख ८६ हजार रुपियाँ बराबरको नोक्सानी भएको छ । यस्तै रसुवा, मकवानपुर, काभ्रे र चितवनमा क्रमशः १५६.३०, १६, १४.५ र २० हेक्टर धान खेतीमा क्षति पुग्दा २५७.५२, ५१.२०, १२.५ र ७५.४० मेट्रिक टन धान नष्ट भएको मन्त्रालयले जनाएको छ ।
राहतका लागि पाँच करोड
बागमती प्रदेशमा कृषि क्षेत्रमा विपत्बाट भएको क्षतिका लागि कृषकलाई राहतस्वरूप पाँच करोड रुपियाँ वितरण गरिने भएको छ । कृषि मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार गत असोज १७ र १८ मा परेको पानीले धानबालीमा क्षति पुर्याएपछि किसानलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने तयारी गरेको छ । कृषि मन्त्रालयले धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि प्रदेश अर्थ मन्त्रालयबाट पाँच करोड रुपियाँ उपलब्ध गराउन सहमति मागेको उहाँले जानकारी दिनुभयो ।