• २८ कात्तिक २०८२, शुक्रबार

घुसपैठकै कारण औद्योगिक प्रतिष्ठानमा क्षति : ढकाल

blog

धादिङबेँसी समाचारदाता

धादिङबेँसी, कात्तिक २८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठकै कारण औद्योगिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको बताउनुभएको छ ।

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेनजी समूहले पवित्र उद्देश्यका साथ विद्रोह गरेको भए पनि अवाञ्छित तत्वको घुसपैठले निजी क्षेत्रले ठुलो क्षति बेहोर्नु परेको बताउनुभयो ।

धादिङ उद्योग वाणिज्य सङ्घको ३२ औँ साधारण सभा तथा ३४ औँ स्थापना दिवसमा धादिङबेँसीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र फेरि सशक्त भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रलाई निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न वातावरण बन्दैन, त्यसैले व्यवसाय सुरक्षा अब हाम्रो प्राथमिकता हो ।” उहाँले निजी क्षेत्र आर्थिक गतिविधिको इन्जिन भएको उल्लेख गर्दै सरकारले पनि निजी क्षेत्रलाई समर्थन र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले निजी क्षेत्र कर तिर्ने, रोजगारी सिर्जना गर्ने र पूर्वाधार विकासमा योगदान पु¥याउने क्षेत्र भएको भन्दै आगामी दिनमा निजी क्षेत्रलाई कुनै पनि समूहको टार्गेटमा पर्न नदिन र यसले भोगेका समस्या समाधान गर्न सरकारसँग माग पनि गर्नुभयो ।  “निजी क्षेत्र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्र हो । कुनै पनि आन्दोलनमा निजी क्षेत्र टार्गेट नबनोस्, निजी क्षेत्रमाथि नियतवश आगजनी, तोडफोड र हमलामा नपरोस्,” ढकालले भन्नुभयो । ठुला उद्योगमा देखिएका विद्युत् महसुल वक्यौताका सम्बन्धमा सरकारले पनि न्यायोचित ढङ्गबाट निर्णय लिनुपर्ने अध्यक्ष ढकालले बताउनुभयो । 

धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीले सबै उद्यमी व्यवसायीको अपनत्व हुने गरी विकसित गर्न सदस्यता प्रक्रियालाई सदैव खुला गरिरहेको जानकारी दिनुभयो ।