गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २८ गते । पत्रकारले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको छ । प्रेस काउन्सिल नेपालले बिहीबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तक्रिया कार्यक्रममा वक्ताले पत्रकारका तर्फबाट आचारसंहिता कायम गर्न नसकिएको औँल्याएका छन् ।
कार्यक्रममा पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारले पूर्ण रूपमा आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो । पत्रकारले आचारसंहिता पालना नगरेर जथाभाबी समाचार सम्प्रेषण गर्ने गरेको आवाज सुनिन थालेको भन्दै उहाँले आचारसंहिता पालना गर्न काउन्सिलले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले निर्वाध रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले काउन्सिलमा सबैभन्दा बढी उजुरी अनलाइन मिडियाको आएको जानकारी दिँदै यसबाहेक हुबहु, पोस्ट डिलिट, कपीपेस्टलगायतका उजुरी पर्ने गरेको बताउनुभयो ।
प्रेस काउन्सिलमा साउनयता १२२ वटा उजुरी परेका छन् । अघिल्लो वर्षका १३८ मध्ये ४५ वटा उजुरी फस्र्योट भइसकेको, भ्रामक र सत्यापन नभएका ७३, चरित्रहत्या तथा मानहानि ३६, बीभत्स तस्बिर एक, हुबहु एक, सामाजिक सद्भाव प्रतिकूल एक र अन्य नौ गरी १२२ वटा उजुरी दर्ता भएका छन् । ती १२२ वटै फस्र्योट हुन बाँकी छ ।