• २८ कात्तिक २०८२, शुक्रबार

पाखो बारीमै झुल्यो धान

blog

धनकुटा नगरपालिका–९, बेलहराका किसान वेदप्रसाद रोइलाले यो वर्षबाट पाखो बारीमा गर्नुभएको धान खेती ।

सिँचाइ सुविधा नभएका पाखो, सुक्खा र भिरालो जमिनमा समेत धान खेती गर्न सकिने भएपछि धनकुटाका बेलहरा, कुरुले, छथरजोरपाटीको तेलियालगायतका गाउँका कृषकले पाखो बारीमै धान लगाउन थालेका छन् ।

कविराज घिमिरे 

हिले, कात्तिक २८ गते । धनकुटा नगरपालिका–९, बेलहराका किसान वेदप्रसाद रोइलाले यो वर्षबाट पाखोबारीमा धान खेती गर्नुभयो । धान खेती कहिल्यै नहुने, मकै, कोदो मात्रै हुने बारीमा पानी अभावमै पनि सधैँ सिँचाइ हुने खेतमा जस्तै धान फलेपछि उहाँ अहिले निकै खुसी हुनुहुन्छ । “अब अलि अलि पानी भए पनि धान खेती गर्न सकिने रहेछ, खासै समस्या नहुँदो रहेछ । सिँचाइ गरेर रोपेको खेतमा र पाखो बारीमा धान बराबरी नै फल्ने रहेछ,” रोइला भन्नुहुन्छ । 

धनकुटा नगरपालिका–९ वडाकार्यालयको ५० प्रतिशत अनुदानमा यो वर्षबाट उहाँले सुक्खा स्थानमा हुने धान खेती सुरु गर्नुभएको हो । बेलहरा सुक्खाग्रस्त क्षेत्र हो । यहाँ तल्लो क्षेत्रमा धान खेती भए पनि माथिल्लो क्षेत्रमा धन खेती हुँदैनथ्यो तर यो वर्षबाट माथिल्लो क्षेत्रमा समेत धान खेती सुरु भएको छ । वडा कार्यालयको ५० प्रतिशत अनुदानमा वडाका ५५२ परिवारलाई यो धानको बिउ वितरण गरेको वडाध्यक्ष टङ्क रोइलाले जानकारी दिनुभयो । “हाम्रो माथिल्लो क्षेत्र सुक्खा ग्रस्त क्षेत्र हो पानी अभावमा यहाँ धान खेती हुँदैनथ्यो तर यो वर्ष सुक्खामा हुने धान खेती सुरु ग¥यौँ, राम्रो फलेको छ,” रोइला भन्नुहुन्छ । 

छथरजोरपाटी गाउँपालिका–४ का किसान रुद्रबहादुर ओझाले चार रोपनी पाखो बारीमा यो साल मनग्गे धान फलाउनुभएको छ । सामान्य पानीकै भरमा पाखोमै धान खेती गर्दा पनि यो साल धान राम्रै फलेको उहाँको भनाइ छ । अरू धानको तुलनामा यो धानलाई स्याहार सम्भारसमेत कम गर्दा हुने उहाँ बताउनुहुन्छ । “अर्को धानलाई जस्तो पटक पटक पानी पनि लगाइरहनु पर्दैन रहेछ, धान रोपेर एक पटक गोडेपछि अरू केही गर्नु नपर्ने रहेछ,” ओझा भन्नुहुन्छ । 

योसँगै धनकुटामा बर्खे धान रोप्ने बेला सधैँ किसानलाई सिँचाइका लागि पानी नहुँदा सास्ती भोग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अब धनकुटाका किसानले सिँचाइ सुविधा नभएको पाखो, सुक्खा र भिरालो जमिनमा समेत धान खेती गर्न सक्ने छन् । बेलहराबाहेक चौबिसे गाउँपालिकाको कुरुले र छथरजोरपाटीको तेलियामा पनि कृषक यो धानतर्फ आकर्षित भएका छन् । 

पाखो बारीमा लगाइने यो धान हाइब्रिड उपज र सङ्खर जात हो । यो धान खेतीका लागि नियमित रूपमा सिँचाइ गरिरहनु पर्दैन । सुक्खायाममा पनि धान फल्ने भएकाले किसानका लागि विकल्प हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाको भनाइ छ । जिल्लामा यो धान अहिले अनुसन्धानकै क्रममा रहेको तर उत्पादनको अवस्था हेर्दा निकै राम्रो रहेको उहाँको दाबी छ । “अहिलेको अवस्था हेर्दा धनकुटाका धेरै स्थानमा बर्खामा सिँचाइ अभावका कारण धान खेती हुने क्रम घट्दो छ । यो धानले त्यो समस्या केही हदसम्म कम गर्न सहयोग गर्छ,” प्रमुख राना भन्नुहुन्छ । 

जिल्लामा करिब चार हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्खामा पानी राम्रो पर्दा यो तथ्याङ्क बढ्ने पानी कम परेको वर्ष घट्ने गरेको छ । पछिल्लो समयमा सुक्खा क्षेत्रमा पनि उत्पादन हुने भएकाले किसानलाई पाखो बारीमा उत्पादन हुने धान खेती उपयुक्त हुने भनेर केन्द्रले सल्लाह दिने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । सिँचाइको पानी नलाग्ने र धान खेती असम्भव ठानिएका स्थानमा समेत राम्रो उत्पादन देखिएपछि किसानको चासो बढ्दै गएको कार्यालयको भनाइ छ ।