• २१ मङ्सिर २०८२, आइतबार

धार्चे आधारभूत अस्पताल : उत्तरी गोरखावासीको स्वास्थ्यको नयाँ आशा

blog

धार्चे गाउँपालिका – ३ खोर्लाबेंसीमा रहेको धार्चे आधारभूत अस्पताल । तस्बिर सौजन्य : सुनबहादुर गुरुङ

गुणबहादुर रोका 
सुलीकोट, कात्तिक २७ गते ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ३ खोर्लाबेंसीमा स्थापना भएको धार्चे आधारभुत अस्पताल उत्तरी गोरखावासीको स्वास्थ्यको नयाँ आशा र वरदान साबित भएको छ । विगतमा साना स्वास्थ्य चौकीको भरमा उपचार गर्नुपर्ने अवस्थाले स्थानीयहरुलाई निकै कठिनाइ भएको थियो ।

सुत्केरी, बिरामी र दुर्घटनमा परेकाहरुलाई उपचारका लागि घण्टौं पैदल हिँडेर प्रदेश अस्पताल गोरखा पुग्नुपर्ने बाध्यता रहँदा धेरैले समयमा उपचार नपाएर ज्यान गुमाउनुपरेको घटनासमेत देखिन्थे ।

अब भने धार्चे आधारभूत अस्पताल विगत एक वर्षदेखि सञ्चालनमा आएपछि त्यस्ता समस्या क्रमशः घटिरहेका छन् । अस्पतालमा दक्ष स्वास्थ्यकर्मी, सामान्य शल्यक्रिया, प्रसूति सेवा, प्रयोगशाला, आपतकालीन उपचार, एक्सरे र औषधी वितरण सेवा सञ्चालनले गर्दा उत्तरी गोरखाबासी नागरिकहरुमा ठुलो राहत पुगेको छ ।

‘‘धार्चे गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्दै आएको छ,’’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘‘ग्रामीण क्षेत्रको बासिन्दाका लागि आधारभूत अस्पतालमा चौबिसे घण्टा चिकित्सकसहितको टोलीले सेवा दिएपछि गर्भवती महिलाहरुका लागि निःशुल्क प्रसूति सेवा र भिडियो एक्सरेका लागि गोरखा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’’

अहिले पनि उत्तरी गोरखावासी नागरिकहरुको एक मात्र समस्या के हो भने भिडियो एक्सरे गर्न महँगो भाडा तिरेर काठमाडौँबाट हेलिकोप्टर मगाउनुपर्ने बाध्यताले उत्तरी गोरखावासीहरुलाई निराश बनाएको थियो अहिले भने समय र आर्थिक बचत भएको धार्चे गाउँपालिका – ३ खोर्लाबेंसीका स्थानीय महिला पूर्ण गुरुङको भनाइ छ ।

‘‘आधारभूत अस्पतालमा स्वास्थ्य सेवा थप विस्तार गर्न लागिपरेको छ,’’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘आगमी वर्षहरुमा अत्यावश्यक उपकरण र जनशक्ति थप्ने योजना भएकाले स्वास्थ्य, शिक्षा, सरसफाइ र रोग नियन्त्रणसमबन्धी जनचेतना कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।’’

स्थानीय युवा सुनबहादुर गुरुङका अनुसार अस्पताल स्थापना भएदेखि धार्चे लगायतका चुमनुब्री गाउँपालिकाका केही स्थानीयलाई यस अस्पतालले निकै राहत दिएको छ । विशेष गरी उत्तरी गोरखाका गरिब, ज्येष्ठ नागरिक, महिला र बालबालिकाहरुले स्वास्थ्य सेवा सहजै प्राप्त गर्न थालेका छन् ।

धार्चे आधारभूत अस्पताल केबल उपचार केन्द्र मात्र नभई उत्तरी गोरखावासीको जीवनमा आशाको किरण बनेको छ । यसले स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्दै ग्रामीण विकासको नयाँ अध्याय लेख्न सफल भएको छ ।

उत्तरी गोरखावासी नागरिकहरुको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रंशसा गर्दै आधारभूत अस्पतालका ४ जना स्वास्थ्यकर्मीलाई सम्मानपत्र र दोसल्ला ओढाएर गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सम्मान गर्नुभएको थियो ।