• २६ कात्तिक २०८२, बुधबार

राजविराज बजारको सडक अस्तव्यस्त

blog

राजविराजको सडकमा देखिएको भिड । तस्बिर : सुध देव

सुधा देव
भारदह(सप्तरी), कात्तिक २६ गते ।
जिल्लाको राजविराज बजारको सडक अस्तव्यस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको राजविराजको बजारमाको मुख्य सडकमा अतिक्रम र सडकमै सवारीसाधन पार्किङ बढ्दै गएपछि भिडभाडका कारण सर्वसाधारणलाई बाटो काट्न र सडकबाट हिडडुल गर्न एकदमै समस्या भोग्नुपरेको छ ।

राजविराजका मुख्य सडकहरू मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय, माइक्रो स्डेन्टदेखि छिन्नमस्ता अस्पताल, जनआन्दोलन चौकदेखि राममन्दिरसम्मको सडकमा अत्यधिक भिडभाड बढेपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो ।

स–साना व्यापारीहरूले सडकको छेउमा सडक अतिक्रमण गरी पसलहरू सञ्चालनमा ल्याएकाले भिडभाडका कारण पाँच मिनेटमा पुग्ने ठाउँमा १० मिनेट लाग्ने गरेको र दुर्घटनाको जोखिम उत्तिकै बढेको राजविराज उच्च अदालत बारएसोसिएसनका उपाध्यक्ष धर्मेन्द यादवले बताउनुभयो ।

राजविराजको सडकमा अतिक्रमण घट्नुको सट्टा दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय व्यापारी र सडकमा दुई पांग्रे र चार पांग्रे गाडी पार्किङ गर्नेको मनपरि भिडभाडका कारण एम्बुलेन्स पनि रोकेर जानुपर्ने बाध्यता रहेको एम्बुलेन्स चालक बिजय देवले बताउनुभयो ।

उता करोडौंको लगानीमा बनेको राजविराज २ स्थित रहेको बसपार्क उदघाटन गरेको पाँच महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । सडकमै सवारीसाधन पार्किङ, तरकारी बजार र सडकलाई अतिक्रमण गरी पसल सञ्चालन गर्दा सर्वसाधारणले समस्या भोग्नुपर्ने स्थानीयको भनाइ छ ।

सडक अतिक्रमण गरेर सञ्चालन गरेको पसलहरू पटक पटक हटाएका छौँ । हटियाको लागि तत्कालका लागि छुट्टयाइएको ठाउँ खाली छ । स–साना व्यापारीले आफ्नै हिसाबले पसल सञ्चालन गरेर सडक अतिक्रमण गर्नु राम्रो होइन । हटिया व्यवस्थापन हुन एक महिना समय लाग्छ । त्यसपछि समस्या समाधान हुनेमा विश्वस्त भएको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो समुदाय प्रतिको दायित्व सबैले बुझ्नुपर्ने हो । नबुझे कै कारण समस्या हुँदै आएको छ । बस पार्क सञ्चालन गर्ने तर्फ लागि रहेका छौं । सञ्चालनका लागि टेन्डर निकालेका छौँ । सम्झौता भए लगत्तै सवारी साधन सडकमा पार्किङ हुने समस्याको अन्त्य हुन्छ ।’’