• २६ कात्तिक २०८२, बुधबार

किबी र च्याउमा भविष्य खोज्दै यमबहादुर

blog

मुसिकोट नगरपालिका–८ मालारानीका व्यवसायीक कृषक ४२ वर्षीय यमबहादुर खत्री । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक २६ गते ।
गुल्मीको मुसिकोट नगरपालिकामा अत्यधिक बसाइँसराइ छ । जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढि परदेश जानेहरु पनि मुसिकोटमै छन् । जापान, अस्ट्रेलिया, कोरिया, युरोप र अमेरिका लगायत देशमा मुसिकोटेहरु धेरै छन् । मुसिकोटमा पनि वामीवासी धेरै परदेशमा छन् । गुल्मीको मुसिकोट नगरपालिका–८ मालारानीका ४२ वर्षीय यमबहादुर खत्री छ भाइ मध्येका जेठो हुनुहुन्छ ।

उहाँका पाँच भाईसहितका परिवार जापानमा बस्नुहुन्छ । यम बहादुरलाई पनि जापान जान नसक्ने केही छैन, तर खत्रीले गाउँमै किबी र च्याउबाट समृद्धि खोज्नु भएको छ । उहाँको फर्ममा गोल्डेन सय र हेवार्ड सय गरेर २०० बोट किबी रहेको छ । उहाँले २०७७ सालबाट किबीको व्यवसायीक उत्पादन थाल्नु भएको हो ।

वर्षमा छ लाख रुपियाँ बढिको गोल्डन र हेवार्ड किबी बिक्री गर्ने खत्रीले बताउनुभयो । गोल्डेन किवीको राम्रो मूल्य भएकाले प्रतिकिलो ४०० रुपियाँमा स्थानीय बजारमै सकिन्छ । अहिले उत्पादनको आश नगरेर बोटलाई राम्रोसँग फैलिने उपायहरु गरिरहेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “किबी राम्रो भए पेन्सन दिन्छ । अहिले राम्रो स्याहारमा जुटेकाले उत्पादनलाई प्राथमिकता दिएका छैन ।”

उहाँले किबी मात्रै नभएर सात वर्षदेखि व्यवसायीक रुपमा सिताके च्याउ उत्पादन गर्नु भएको छ । जापानिज प्रविधिबाट बाह्रै महिना च्याउ उत्पादन हुन्छ । एक हजार मुडाबाट च्याउ उत्पादन गरेर अहिले दुई हजार मुढासम्ममा फर्ममा हुने गरेका छन् । काठमाडौँ गएर आफैँ तालिम लिएर जापानिज प्रविधिमा च्याउ उत्पादन सिक्नु भएका खत्रीले वर्षमा चार लाखसम्मको च्याउ बिक्री गर्दै आएको दाबी गर्नुभयो ।

उहाँका अनुसार जापानिज प्रविधिमा आवश्यकताको आधारमा उत्पादन गर्न मिल्ने भएकाले बजारको हेरर काम गर्न सकिन्छ । कृषि ज्ञान केन्द्र समेतको लागत साझेदारीमा १० लाखको खर्च गरेर आरसिसी भवन निर्माण गरेर च्याउ उत्पादन गरेको खत्रीले बताउनुभयो । भारतमा १० वर्ष रोजगारी गरेर गाउँ फर्किनु भएको यम बहादुरलाई त्यसपछि परदेश मोह कहिल्यै जागेन् । गाउँमै बुबा–आमाको स्याहार–सुसार र आर्शिवादसँगै माटोमा पसिना बगाइरहेकाले अत्यन्तै खुसी र सन्तुष्ट रहेको खत्रीले बताउनुभयो ।

उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । बेमौसमी उत्पादन गर्न नसक्ने, उत्पादनको हिसाबले बेमौसमी महङ्गो हुने भएकाले अधिकांशले मौसम अनुसारकै उत्पादन गर्दा बजार र मूल्य नपाउँदा व्यवसाय चौपट भइरहेका छन् । सोही समस्यालाई ध्यान दिएर यमबहादुरले अहिले किवी रोप्ने लहड चलेकाले उत्पादन बढेपछि प्रशोधनका अरु काममा लगानी गर्ने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले च्याउ पनि बजार हेरेर उत्पादन गर्दा मूल्य धेरै र खपत पनि हुने भएकाले सुरुमै जापानी प्रविधीको च्याउ उत्पादन गर्न मिल्ने प्रविधि र संरचना निर्माण गरेको बताउनुभयो ।