जीवछ यादव
लहान, कात्तिक २६ गते । लहान वडा नम्बर १९ का किसुनदेव महतो तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । जतिबेला पनि तरकारीको बेर्ना उत्पादनमै लागि रहने महतो विदेशभन्दा बढि कमाइ भइरहेकोमा हर्षित देखिनुभएको छ ।
डेढ कठामा तरकारीको बेर्ना उत्पादन गरेर तीन लाख र १५ कठामा तरकारी उत्पादन गरेर पाँच लाख गरी आठ लाख वर्षको कमाइ भइरहेको किसुनदेव महतोले बताउनुभयो । उहाँका अनुसार दुई जना खेतमा काम गर्ने र एक जना तरकारी बिक्री गर्न बजार जाने कार्यतालिका छ । वर्ष भरिको यहि हुन्छ ।
उहाँले भन्नुभयो, ‘‘तीस वर्षदेखि तरकारी खेती गरेर एक करोडभन्दा बढि कमाइ गरियो । मेरो लागि मेरो खेतको माटोमा नै सुन फलिरहेको छ ।’’
६ वटा छोरीको दाइजो दिएर विवाह गर्ने खर्च यहि तरकारी खेतीबाट जुटाएको किसुनदेव महतो अगाडि सुनाउँदै भन्नुभयो, ‘‘कुन समयमा कुन तरकारी लगाउने मष्तिष्कमै रुटिन सेटिङग छ । मेरो जीवन नै खेत खुर्पी बीउ र तरकारी उत्पादन गर्नमा नै बित्नेछ । घर परिवारका अन्य सदस्यहरु यसैमा लागेका छौं । तरकारीको बेर्ना उत्पादन गर्नु चुनौतीपूर्ण र धेरै मेहनेतले हुने गर्दछ । केहि दिन पहिले भएको वर्षाको कारण २० हजारको तरकारीको बेर्नालाई क्षति भयो । तरकारीको बेर्ना बिक्री गर्न र तरकारी लिन घरसम्म नै किसान र व्यापारी आइपुग्ने गर्दछ ।’’
तरकारी खेतीबाट राम्रो कमाइ गर्न सकिने लहान नगरपालिकाको उत्तरी र दक्षिणी भेगका किसानहरुलाई लहान नगरपालिका कृषि शाखाले समया सुहाउँदो तालिम मल, प्रविधि भण्डारण र बजारको व्वयस्थापनमा ध्यान दिए वैदेशिक रोजगारभन्दा आफ्नै गाउँ ठाउँमा कमाई गर्न सक्ने उहाँको सुझाव छ ।
यता लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ भन्नुहुन्छ, ‘‘किसुनदेव महतो जस्तो तरकारी खेति गर्ने किसानहरु लहान नगरपालिका वडा नम्बर २,३,१३, १४,१५, १८ र २४ नम्बरमा दर्जनौ किसानहरु रहेको छन् । तिनिहरुलाई पटक पटक तलिम प्रविधि बीउमा अनुदान लगायतका सुविधा दिएपनि सिँचाइ बजार व्यवस्थापन र शीत भण्डारको लागि शाखाले काम गरीरहेको र प्रर्याप्त बजेटको व्ववस्थापनको लागि अनुकूल वातावरण बनाइरहेको छौं ।’’