• २६ कात्तिक २०८२, बुधबार

ब्राजिल कोपमा नेपाल

blog

नेपालका छिमेकी मुलुक चीन र भारत अहिले पनि उच्च कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्छन् । कार्बन उत्सर्जनलाई विस्थापित गर्न स्वच्छ ऊर्जाको दिशामा अग्रसर हुनै पर्छ । नेपालसँग जलविद्युत्बाट स्वच्छ ऊर्जा उत्पादन गर्ने अपार सम्भावना छ । कुल क्षमताको सीमित अंश पनि जलविद्युत् जस्तो स्वच्छ उत्पादन गर्न सकेको छैन । दक्षिण एसियालाई स्वच्छ ऊर्जा आपूर्ति गर्न सक्ने क्षमतामा आवश्यक लगानी हुन सकेको छैन ।

जलवायु परिवर्तनले विश्वलाई प्रतिकूल प्रभाव पारिरहेको छ । औद्योगिक क्रान्तियता विश्वभर जैविक इन्धनको व्यापक प्रयोगले कतिपय मुलुकले विकासको चरम सीमा हासिल गरे । प्राकृतिक स्रोतसाधनको अति दोहनबाट प्राप्त त्यस्तो विकासले विश्वमा कार्बन उत्सर्जन बढायो । पूर्वऔद्योगिक युगयताका झन्डै दुई सय वर्षमा विश्वतापमान झन्डै दुई डिग्री सेल्सियस पुग्न खोज्दै छ । त्यसले हिमालका हिउँ पग्लेका छन् । विश्वको तेस्रो धु्रव मानिने हिन्दकुश पर्वत शृङ्खलाको महत्वपूर्ण भाग नेपालमा पर्छ । संसारकै अग्लो सगरमाथासहित ठुला अग्ला हिमाल रहेको नेपालका हिमशृङ्खला हिउँ पग्लेर कालापहाडमा परिवर्तन हुने जोखिमतिर अग्रसर छन् । बढ्दो तापमानले हिमताल फुटेर बाढी र पहिरोको जोखिम बढिरहेको छ । नेपालको कृषि क्षेत्र सबैभन्दा बढी जलवायु परिवर्तनको सङ्कटबाट प्रभावित हुँदै छन् । विश्वले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न विगत तीन/चार दशकयता संस्थागत प्रयासमा निरन्तरता दिएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप) बर्सेनि चलिरहेको छ । नेपाल कोपमा बर्सेनि सहभागी भइरहेको छ । यो पटकको ३० औँ कोप सम्मेलन ब्राजिलको बेलेम सहरमा सोमबार सुरु भएको छ । यो सम्मेलनमा नेपालले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा उच्चस्तरीय सहभागिता जनाउँदै छ । त्यसका निम्ति नेपालले आवश्यक तयारी गरिरहेको छ । सम्मेलनको प्रारम्भिक चरणका बैठकमा यसअघि नै टोली ब्राजिल पुगेको छ भने नेपालमा पनि विज्ञ समूहले देशीय दृष्टिकोण तयार गरिरहेको छ ।

सोमबार अर्थात् कात्तिक २४ गते सुरु भएको सम्मेलन मङ्सिर ५ गतेसम्म चल्ने छ । मन्त्री डा. परियारले नेतृत्व गर्ने उच्चस्तरीय टोली आगामी शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छ । तयारीका क्रममा नेपालले जमिन सुहाउँदो जलवायु परिवर्तनका असर न्यूनीकरणमा गृहकार्य गरिरहेको छ । जलवायु अनुकूलन तथा वित्तका निम्ति जोड दिइने गरी तयारी अगाडि बढेको छ । मन्त्री डा. परियारले विश्वजगत्लाई कोप सम्मेलनका क्रममा नेपालको कार्यसूचीलाई सुस्पष्ट पार्ने बताउनुभएको छ । नेपालको हिमाल पग्लँदै गएको विषय विश्वकै निम्ति मूलभूत कार्यसूची हो । त्यसका निम्ति अलि बढी नै जोड दिनुपर्ने छ । जलवायु परिवर्तनको जोखिमका कारण नेपालले भोगिरहेको हानिनोक्सानीका विषय पनि जानकारी गराइनुपर्ने छ । गत वर्षको असोज १० देखि १२ सम्म काठमाडौँ उपत्यका र वरपर ठुलो जनधनको क्षति भयो । गत वर्ष नै सोलुखुम्बुको थामेमा पनि हिमपहिरोका कारण ठुलो क्षति भयो । अघिल्लो महिना अर्थात् असोज १७ देखि दुई दिन देशको मध्य तथा पूर्वी भेगमा परेको अविरल वर्षाले बाढीपहिरोले ठुलो क्षति भएको छ । कात्तिकको सुरुमै परेको हिमवर्षा तथा झरिले नेपालको पर्यटन र धानलगायतको खेतीबालीमा प्रतिकूल प्रभाव प¥यो । यी र यस्ता विषयलाई ब्राजिल कोपमा नेपालले प्रभावकारी ढङ्गले राख्नुपर्ने छ ।

नेपालले कोप सम्मेलनको तयारीसमेतलाई ध्यान दिई सगरमाथा संवादसमेत आयोजना गरेको विदितै छ । सो कार्यक्रममा देश तथा विदेशबाट राम्रो सहभागिता रह्यो । जलवायु परिवर्तनका यस क्षेत्रका मूलभूत मुद्दा समेटेको सगरमाथा संवादका निष्कर्षसमेत कोप सम्मेलनका निम्ति महत्वपूर्ण विषयवस्तु हुन सक्छन् । कोष सम्मेलनमा उठाउन सकिने गम्भीर विषयवस्तु छन् । जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिलगायत अन्तरसम्बन्धित विषयवस्तुलाई देशीय दृष्टिकोणसहित उठाउनुपर्ने छ । यस्ता कतिपय विषयवस्तुमा नेपाल अति नै प्रभावित छ । नेपालले हिमाल संरक्षणका विषयलाई अति नै जोड दिनु पर्छ । नेपालका छिमेकी मुलुक चीन र भारत अहिले पनि उच्च कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्छन् । कार्बन उत्सर्जनलाई विस्थापित गर्न स्वच्छ ऊर्जाको दिशामा अग्रसर हुनै पर्छ । नेपालसँग जलविद्युत्बाट स्वच्छ ऊर्जा उत्पादन गर्ने अपार सम्भावना छ । कुल क्षमताको सीमित अंश पनि जलविद्युत् जस्तो स्वच्छ उत्पादन गर्न सकेको छैन । दक्षिण एसियालाई स्वच्छ ऊर्जा आपूर्ति गर्न सक्ने क्षमतामा आवश्यक लगानी हुन सकेको छैन । सौर्य तथा वायु ऊर्जामा पनि नेपालको सम्भावना छ । कोप जस्तो अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा नेपालले फराकिलो दायरामा तयारी गर्नु पर्छ । गत वर्ष राष्ट्रपतिकै नेतृत्वमा कोपमा नेपालको सहभागिता थियो । त्यसका उपलब्धिसमेतलाई निरन्तरता दिँदै ब्राजिल कोपमा थप उपलब्धि हासिल गरिनु आवश्यक छ ।