• २५ कात्तिक २०८२, मङ्गलबार

मेलम्ची विवाद मिलाउन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । अहिले खानेपानी मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै समालिरहनुभएको छ । विगतमा गरिएका सम्झौता कार्यान्वयन माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विगतमा गरिएका सहमति र अहिले राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौँ उपत्यकामा खानेपानी समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गर्नुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ता पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि–मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेडले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिका विकासका लागि उपलब्ध गराउनुपर्ने बताउनुभयो ।