चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २४ गते । ताप्लेजुङका सुरक्षा प्रमुखहरूले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँसहित सुरक्षा प्रमुखहरूको टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको हो ।
जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका–१, कालीखोला र सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिन तथा भारततर्फ सिक्किमको ग्याल्सिङ जिल्लासँग सिमाना जोडिएको सीमा क्षेत्रको अनुगमन गरिएको हो । दुई देशको सीमा नेपालतर्फ तिम्बुङपोखरी र भारतको सिक्किमतर्फ लामपोखरी क्षेत्रको अनुगमन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घाको अगुवाइमा नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको गुल्मपति एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिनुभयो । जिल्लास्थित सुरक्षा प्रमुखहरूसहितको टोली र भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी समेतले गएको शुक्रबार सीमा क्षेत्रको संयुक्त अनुगमन साथै निरीक्षण गरेको सप्रनाउ पाठकले बताउनुभयो ।
उहाँका अनुसार सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अवस्था अनुगमनसँगै जिर्ण स्तम्भको मर्मत साथै रङरोगनसमेत गरिएको छ । त्यस्तै, दसगजा क्षेत्रमा सरसफाइ पनि गरिएको सप्रनाउ पाठकले जानकारी दिनुभयो । यसअघि सशस्त्र प्रहरीको नम्बर १ गुल्म कञ्चनजङ्घा र ओलाङ्चुङगोला बोर्डर आउट पोस्ट (बिओपी) को टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको उत्तरी सीमा क्षेत्रको निरीक्षण (गस्ती) गरेको छ ।