• २४ कात्तिक २०८२, सोमबार

मतदाता नामावली दर्ता गर्न युवापुस्ता उत्साहित

blog

निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको भिड । तस्बिर : छवि पाण्डे

बुटवल/जमुनाह समाचारदाता

बुटवल, कात्तिक २४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही र बाँकेमा मतदाता नाम दर्ता गराउनेको भिड तीव्र रूपमा बढिरहेको छ । जिल्लास्थित निर्वाचन कार्यालयहरूमा दैनिक जसो नयाँ मतदाता बन्नका लागि लाइन लाग्ने गरेका छन् । जसमा अधिकांश नयाँ पुस्ताका युवा रहेका छन् ।

बुटवल समाचारदाता छवि पाण्डेका अनुसार रुपन्देही जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले पछिल्ला दिनमा दैनिक पाँच सयदेखि सात सयसम्मले नयाँ मतदाता नामावली दर्ता गर्ने गरेका छन् । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले तीमध्ये करिब ८० प्रतिशत युवापुस्ता रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार विदेशबाट फर्किएका युवाले ठुलो सङ्ख्यामा नाम दर्ता गराइरहेका छन् ।

कात्तिक २० गतेसम्म रुपन्देहीमा चार हजार ७१४ जनाले नयाँ रूपमा नाम दर्ता गराइसकेका छन् । यसअघि कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या छ लाख ४४ हजार ३५६ पुगेको थियो । जसमा तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ महिला छन् ।

नाम दर्ता गराउनेको भिडका कारण कयौँ दिन त सर्भर डाउन हुने समस्या देखिएको छ । जसले सेवाग्राहीलाई सास्ती भएको छ । राष्ट्रिय परिचयपत्र नभई नागरिकताको प्रमाणपत्रका आधारमा मात्रै नाम दर्ता गर्न पाउने प्रावधानका कारण कतिपय सेवाग्राही फर्किन बाध्य भएका छन् ।

बाँकेस्थित जमुनाह समाचारदाता लक्ष्मी तिमिल्सेनाका अनुसार बाँकेका नयाँपुस्ताका युवाले लोकतान्त्रिक अभ्यासमा आमनागरिकको सहभागिता बढाउन निःशुल्क मतदाता फाराम भरिदिने अभियान सुरु गरेका छन् । नेपालगन्जका युवा सागर आचार्यको नेतृत्वमा सुरु गरिएको यो अभियानमा प्रविधिमा निपूर्ण युवाले मतदाता हुन चाहनेको फाराम भर्ने, अनलाइन दर्ता गर्ने र त्रुटि सच्याउने काममा सहयोग गर्दै आएका छन् ।

स्थानीय युवा सागर आचार्यका अनुसार सो समूहले हालसम्म ३७३ जनाको मतदाता फाराम निःशुल्क भरिदिएको छ र पाँच सय जनाको लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्रमा हरेक मतको मूल्य हुन्छ, कुनै पनि नागरिक आफ्नो अधिकारबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो ।”

निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हालसम्म बाँकेमा पाँच हजार २२९ जना नयाँ मतदाता थपिएका छन् । बाँकेमा हाल तीन लाख ३३ हजार ९३४ मतदाता दर्ता भएका छन् । जसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।

हाल दुवै जिल्लाका निर्वाचन कार्यालयले बाँकी रहेका दिनमा भिड अझ बढ्ने अनुमान गर्दै सेवाको सहजता र व्यवस्थापनमा ध्यान दिइरहेका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ता गर्ने म्याद तोकेको छ ।