• २३ कात्तिक २०८२, आइतबार

बैतडी कारागारमा नयाँ भवन निर्माण, कैदीबन्दी स्थानान्तरणको तयारी

blog

जिर्ण बन्दै गएको पुरानो बन्दीगृह । तस्बिर : केशब राज भट्ट

केशव राज भट्ट

वाशुलिङ (बैतडी), कार्तिक २३ गते । जीर्ण बनेको बैतडी कारागारमा नयाँ भवन निर्माण गरिने भएको छ । नयाँ भवन निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेको र कार्तिक महिनाको अन्तिम सातादेखि कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरण कार्य सुरु गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानान्तरण पछि थुनुवाहरूलाई डडेल्धुरा कारागारमा र कैदीबन्दीलाई देशका विभिन्न कारागारमा पठाउने योजना रहेको छ ।

नयाँ भवन निर्माणका लागि १० करोड रुपियाँ बजेट विनियोजन गरिएको र निर्माण कार्य केकेजे कालिका एस बी जेभी सुकेधारा कम्पनीले सञ्चालन गर्ने भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ । सन् १९८३ (२०४० साल) मा निर्माण गरिएको पुरानो बन्दीगृहमा २५ जनासम्म बस्न सक्ने क्षमता भए पनि हाल ६१ जना कैदी तथा थुनुवा रहेका छन । नयाँ भवन बनेपछि बन्दीगृह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।