• २३ कात्तिक २०८२, आइतबार

पुल बग्यो, थप काम भएन

blog

ज्योति पन्थी 

बबई (बर्दिया), कात्तिक २३ गते । बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल बाढीले बगाएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रामा निर्भर छन् । सडक डिभिजन कार्यालय बाँकेले निर्माणको जिम्मा लिएको उक्त पुलका २०७४ सालको बाढीले चार वटा पिल्लर भासिएपछि प्रयोगमा आउन नपाउँदै बगाएको थियो । त्यसपछि २०७९ सालमा आएको अर्को बाढीले पुलका दुई वटा स्लोपसमेत बगाएपछि सम्पूर्ण आवागमन ठप्प भएको हो ।

जिल्ला सदरमुकाम गुलरिया र बारबर्दियालाई जोड्ने उक्त पुल निर्माण सम्पन्न भई हस्तान्तरणको तयारी अवस्थामा हुँदा बबई नदीको बाढीले क्षति पु¥याएको थियो । पुल नहुँदा बारबर्दियाका स्थानीय अहिले पनि गुलरिया आवतजावतका लागि बबई नदीको जब्दीघाट हुँदै डुङ्गा प्रयोग गर्न बाध्य छन् । गर्मीयाममा नदीको बहाब कम हुँदा मोटरसाइकल र साइकललाई समेत जोखिमपूर्वक डुङ्गामा राखेर नदी पार गराइन्छ भने बर्खायाममा पानीको सतह बढ्दा डुङ्गायात्रा झन् खतरनाक बन्ने गरेको छ ।

स्थानीय जनक विष्टका अनुसार वर्षायाममा डुङ्गामा चढ्ने क्रममा यात्रु बारम्बार नदीमा खस्ने गरेका छन् । उहाँले भन्नुभयो, “२० मिनेटको दुरी तय गर्न एक घण्टासम्म लाग्छ, कहिलेकाहीँ त डुङ्गा सञ्चालन नै बन्द हुन्छ ।” बारबर्दिया–११, बैदीका कृष्ण अधिकारीका अनुसार सदरमुकाम पुग्नका लागि अहिले २० किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, जसले समय र खर्च दुवै बढाएको छ ।

२०७४ सालको बाढीपछि पुलको उत्तरतर्फका चार पिल्लर भासिए र २०७९ सालमा थप दुई वटा स्लोप बगिएपछि पुल प्रयोग अयोग्य भयो । स्थानीयले पटक पटक पुनर्निर्माणको माग गरे पनि पहल हुन सकेको छैन । गुलरिया नगरपालिका–४ का कृष्ण ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि पुल पुनर्निर्माणका लागि बजेट विनियोजन भएको सुन्दा स्थानीय उत्साहित भए पनि ठेक्का आह्वान नै नहुँदा निराश बनेका छन् ।

गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवले पुल पुनर्निर्माणका लागि मन्त्रालय र सडक डिभिजन कार्यालय बाँकेबिच सहमति भइसकेको बताउनुभयो तर अहिलेसम्म काम सुरु नभएकोमा  उहाँको गुनासो छ । यादवले भन्नुभयो, “पुल पुनर्निर्माण ढिलाइ हुँदा बारबर्दिया र गुलरियाको जनजीवन मात्र होइन, स्थानीय अर्थतन्त्र पनि प्रभावित बनेको छ ।”

स्थानीयवासीका अनुसार पुल बगाएको आठ वर्ष बितिसक्दा पनि सरकार र सम्बन्धित निकायले ठोस पहल नगर्दा उनीहरू जोखिममा परेका छन् । उनीहरूले हरेक वर्ष बजेटको घोषणा र वाचा सुनिरहेका छन् तर काम भने सुरु हुन सकेको छैन । अहिले पनि स्थानीय बगाएको पुलका भग्नावशेष हेर्दै डुङ्गामा यात्रा गर्न बाध्य छन् ।