सिराज खान
नेपालगन्ज, कात्तिक २२ गते । जेनजी आन्दोलनको बेला गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा आगजनी गरेर ध्वस्त पारिएपछि रोकिएको राहदानी वितरणको कार्य दई महिनापछि पुनः सुरु गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले आगजनीबाट ध्वस्त भएको राहदानी शाखाको मर्मत सम्भार गरेर नयाँ उपकरणहरु जडान गरी राहदानी वितरण सुरु गरिएको बताउनुभयो ।
उहाँले जिल्ला प्रशासनबाट प्रदान गरिने सेवाहरु मध्ये राष्ट्रिय परिचयपत्र नागरिकता वितरणको काम केही समय अघिनै सुरु गरिसकिएको जनाउँदै बाँकी रहेकोमध्ये राहदानी वितरण प्रक्रिया पनि सुरु गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएपछि कार्यालयको भवन, भौतिक सामग्री, कागजात जलेर नष्ट भएपछि केही समयसम्म सबै सेवा ठप्प भएको थियो ।
हाल आएर राहदानी सेवा नियमित सुचारु भएको तथा अन्य सबै सेवाहरु पनि छिट्टै सुचारु गर्ने गरी काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जनेजी आन्दोलनपछि सेवा बन्द भएका बाँकेका कार्यालयहरुमध्ये मालपोत कार्यालयले अझै सेवा सुचार गर्न सकेको छैन भने जिल्ला र उच्च अदालतले केही दिन अघि सेवाहर सुचारु गरेको छ । सोही प्रकारले यातायात व्यवस्था कार्यालयले पनि सेवा सुरु गरेको जनाएको छ ।