अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २२ गते । यहाँको भीरकोट नगरपालिकाले बजारवासीले फालेको फोहोर बेचेर मोहोर कमाएको छ । आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले भीरकोट पार्क, कवाडी बिक्री, बजार सरसफाईबाट रकम कमाएको हो ।
पार्क प्रवेश शुल्क र बनभोजबाट तीन लाख १७ हजार ६७५, कवाडी बिक्रीबाट पाँच लाख ६६ हजार ८८०, सरसफाई शुल्क बापत् सात लाख आठ हजार ३३० रुपियाँ र अन्य स्रोतबाट २७ हजार ५ सय ३० गरेर १६ लाख २० हजार ४१५ रुपियाँ नगरपालिकाले सङ्कलन गरेको नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताउनुभयो । यस्तै सुन्दर चौर पार्कबाट जम्मा ५४ हजार ५० रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
सबै स्थानबाट अपेक्षित रुपमा राजस्व उठाउन नसक्दा गत आव मा भीरकोट नगरपालिकाले आन्तरिक राजस्वको लक्ष्य भेट्टाउन नसकेको कर्माचार्यले बताउनुभयो ।
नगरपालिकाले आन्तरिक राजस्वको ६२.३७ प्रतिशत मात्रै उठाउन सफल भएको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
यहाँको मुख्य आम्दानी गर्ने श्रोत मानिएको प्याराग्लाइडिङ, साइक्लिङ, वनभोज र दृश्यावलोकनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएको भीरकोट नगरपाकिला– ५ स्वरेक मैदानमा एक रुपियाँ पनि रकम सङ्कलन नभएको हो ।
प्याराग्लाइडिङमा पर्यटकीय राजधानी पोखराको विकल्पको रुपमा समेत चिनीएको स्वरेक मैदानमा २०७५ सालमा प्याराग्लाइडिङ विश्वकप समेत भएको थियो । यो स्थानमा दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कूल पनि स्थापीत रहेको छ ।
चर्चित र सम्भावना युक्त ठाउँमा संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा पर्यटकीय क्षेत्रको तारबार, पदमार्ग, साइक्लिङ ट्रयाक, शौचालय, वनभोज स्थल र पर्यटक सूचना केन्द्र पनि निर्माण भएको छ ।
प्याराग्लाइडिङका लागि मात्रै नभएर अन्य उद्देश्यले स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आउने गरेका छन् ।
यस्तो महत्त्वपूर्ण पर्यटकीय स्थलबाट भीरकोट नगरपालिकाले वार्षिक करोडौं राजस्व उठ्नु पर्नेमा एक रुपियाँ पनि नउठेको हो ।