• २२ कात्तिक २०८२, शनिबार

कार्ययोजनाविपरीत निकुञ्जमा सफारी

blog

सफारीका क्रममा जङ्गलको बिचमा गरिएको पिकनिक ।

बोमलाल गिरी 

नवलपुर, कात्तिक २२ गते । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती सामुदायिक वनमा कार्ययोजनाविपरीत जिप सफारी हुने गरेको छ । कार्ययोजनामा सूर्योदयदेखि सूर्यास्तसम्म मात्र जिप सफारी गर्न पाइने, तोकिएको स्थानबाहेक अन्यत्र जिप रोक्न र यात्रु ओराल्न नपाइने, २५ देखि ३० मिटर टाढैबाट पर्यटकलाई जङ्गली जनावर अवलोकन गराउनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्था उल्लङ्घन गर्दै जिप सफारी हुने गरेको पाइएको हो । 

पर्यटकलाई जङ्गल सफारी गराउँदा जङ्गलमा तीन वटा गाडीले गैँडाका माउ र बच्चालाई घेरा हाल्ने, जङ्गलमै पर्यटक झारेर ड्राई पिकनिक गराउने, वासस्थानमै गएर बाधा पु¥याउने, अनुमतिविपरीतको फरक बाटो हिँडाएर जनावरलाई आतङ्कित पार्ने जस्ता गुनासा आएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताउनुभयो । 

पछिल्लो समय नवलपुरको दिव्य मध्यवर्ती सामुदायिक वनमा यात्रुलाई जङ्गलभित्रै उतारेर ‘ड्राई पिकनिक’ खुवाइएको छ । उक्त वनका अध्यक्ष सुवास ओझाका अनुसार पिप्रहर होमस्टे, नवलपुरको जिपले जङ्गलभित्रै यात्रु ओरालेर ‘ड्राई पिकनिक’ गराएको पाइएको हो । अध्यक्ष ओझाले भन्नुभयो, “यो जिप सफारीको कार्ययोजनाविपरीतको गम्भीर लापरर्बाही हो, जङ्गलमा यसरी पर्यटकलाई ओर्लनसमेत अनुमति दिइँदैन भने गाडी रोकेर ‘ड्राई पिकनिक’ खाने अनुमति दिनु गम्भीर विषय हो । हामी आजै बोलाएर स्पष्टीकरण सोध्छौँ ।” 

यसरी जङ्गलमा गाडी रोक्दा जङ्गली जनावरले आक्रमण गर्ने प्रबल सम्भावना हुने भएकाले यो घटनाले निकै गम्भीर बनाएको ओझाको भनाइ छ । केही दिनअघि नमुना सामुदायिक वनमा गाडीले गैँडा र बच्चालाई तीनतिरबाट घेरेर फोटो र भिडियो खिचेको अमलटारी सेक्टरका वार्डेन मधु नेपालीले जानकारी दिनुभयो । त्यसअघि कृष्णसार सामुदायिक वनमा गैँडाको नजिकै गाडी लैजाने तीन जना जिपचालक र तीन जना नेचर गाइडलाई अमलटारी सेक्टर कार्यालयमा बोलाएर स्पष्टीकरण सोधिएको र आइन्दा गल्ती नदोहो¥याउने सर्तमा छोडिएको वार्डेन नेपालीले बताउनुभयो । 

यसरी कार्यविधिविपरीत जिप सफारी गराउने क्रम बढेपछि निकुञ्ज पनि आक्रामक बनेको छ । उनीहरूलाई पहिलो चरणमा सम्झाइबुझाइ गर्ने, दोस्रो चरणमा जिप सफारीमा रोक लगाउने र फेरि पनि गल्ती दोहो¥याए सामुदायिक वन नै फिर्ता लिनेसम्मको प्रक्रियामा जाने निकुञ्जका सूचना अधिकारी थापाको चेतावनी छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिनुअघि शान्तिकुञ्ज, नमुना मध्यवर्ती, कृष्णसार र गुन्द्रही ढाका सामुदायिक वनका पदाधिकारीलाई बोलाएर अन्तर्क्रिया गरी सचेत गराए पनि सुरुवातमै कार्यविधि उल्लङ्घन भएको वार्डेन नेपालीले बताउनुभयो । 

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले यस्ता क्रियाकलापले पर्यटन प्रवर्धनमा असर गर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो । अध्यक्ष महतोले भन्नुभयो, “यसरी पटक पटक नियम उल्लङ्घन गर्नु राम्रो होइन, यो विकृति हो । यसले जिल्लाको पर्यटन क्षेत्रलाई नोक्सान पु¥याउँछ, सबै जिम्मेवार बनौं ।