कविराज घिमिरे
हिले, कात्तिक २२ गते । “अब एक पटक देशमा ठुलो आन्दोलन हँुदै छ, यो आन्दोलनले देशमा परिवर्तन ल्याउने छ । त्यसपछि देशमा व्याप्त बेथिति, भ्रष्टाचार हटे हामीले भने जस्तै हुने छ ।” जेनजी आन्दोलनको केही दिनअघि मात्र काठमाडौँमा रहेका दाजु छत्रमान कुथुमीले धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङमा रहेका माइला भाइ खण्डमान कुथुमीलाई मेसेन्जरमा कुरा गर्नुभएको थियो । “सधैँ आन्दोलन भनेर मात्र हुन्छ र हामी एक÷दुई जना उफ्रेर केही हुँदैन । आमाले सोधिरहनुभएको छ । एक पटक गाउँ आउनुस् ।” भाइ खण्डमानको जवाफ थियो ।
छत्रमान र खण्डमानको कुराकानी भएको करिब एक हप्तापछि अर्थात् भदौ २३ र २४ गते अकल्पनीय आन्दोलन चल्यो । २३ गते नै प्रदर्शनका व्रmममा काठमाडौँको बानेश्वरमा गोली लागेर १९ जनाको मृत्यु भयो । मृत्यु भएका व्यक्तिको तत्काल पहिचान हुन नसकेपछि साँझ सामाजिक सञ्जालमा एउटा तस्बिरसहित सम्बन्धित व्यक्तिका परिवारलाई सम्पर्क गर्न अनुरोध गरिएको सूचना सार्वजनिक भयो । सोही सूचनाका आधारमा आफन्त हुँदै भोलिपल्ट परिवारसम्म उक्त खबर पुग्यो । उहाँ नै हुनुहुन्थ्यो धनकुटा पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित दाङसिङका ६४ वर्षीय ‘सात पारुहाङ’ भनिने छत्रमान कुथुमी । उहाँको शव भदौ ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत कुथुमी गाउँ अर्थात् पाख्रीबास नगरपालिका–१०, चुङमाङ ल्याएर अन्त्येष्टि गरियो ।
भाइ खण्डमान कुथुमी भन्नुहुन्छ, “दाइले आन्दोलनपछि गाउँ फर्किन्छु भन्नु हुन्थ्यो, अब कहिल्यै नफर्किने गरी काठको बाकसमा फर्कनुभयो ।” देशमा परिवर्तन ल्याउन भनी पटक पटक हुने आन्दोलनमा होमिने मेरो दाइको यही आन्दोलन अन्तिम बनेको कुथुमी बताउनुहुन्छ । छत्रमानलाई सरकारले कात्तिक १८ गते सहिद घोषणा गरेको छ ।
बुवा बेलबहादुर कुथुमी र आमा कृष्णकुमारीको कोखबाट २०१८ मङ्सिरमा छत्रमानको जन्म भएको थियो । कुथुमी करिब अढाई दशकयता काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा कान्छी श्रीमतीसँग बस्दै आउनुभएको थियो । उहाँ ज्यालादारी र धामी–झाँव्रmीको काम गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । अन्य दुई श्रीमती, छोराछोरी, आमा, भाइलगायत आफन्त गाउँमै भएकाले उहाँ बारम्बार गाउँमा आउजाउ गरिरहनुहुन्थ्यो । सहिद छत्रमानका तीन श्रीमती, तीन छोरा र तीन छोरीमध्ये अहिले उहाँसँग जेठी श्रीमती राजकुमारी र कान्छी दीपा श्रेष्ठ र छोराछोरी हुनुहुन्छ । जेठी श्रीमती राजकुमारी “धेरै जसो काठमाडौँतिरै बस्ने भएकाले उहाँ कहाँ जानुभयो र कुन अवस्थामा हुनुहुन्छ भन्ने पत्तै भएन । पछि घरपरिवार र आफन्तबाट घटनाबारे जानकारी पाउँदा हामी छाँगाबाट खसे जस्तै भयौँ ।”
छत्रमानका गाउँमा ९० वर्षीय आमा र तीन भाइका परिवार छन् । आमा कृष्णकुमारी कुथुमी भन्नुहुन्छ, “मैले बुढेसकालमा छोरो गुमाउनु प¥यो । अरूले यस्तो घटना भोग्नु नपरोस् । मेरो छोरोले जे उद्देश्यका लागि ज्यान गुमायो त्यो प्राप्त होस् ।” जेनजी आन्दोलनमा धेरैले ज्यान गुमाउनु परेको पीडा एकातिर र फेरि पनि देशमा आन्दोलनको मर्म अनुसारको काम अगाडि बढ्न नसकेको छत्रमानका साइँला भाइ ईश्वर कुथुमी बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, “दाजु त सहिद हुनुभयो तर अब सहिदको परिवारको बिचल्ली नहोस् । सहिदको सपना पूरा होस् ।”
स्वर्गीय छत्रमान जेठी श्रीमतीतर्फको जेठो छोरो वैदेशिक रोजगारको सिलसिलामा विदेशमै हुनुहुन्छ । कान्छी श्रीमती दीपाकातर्फबाट ११ वर्षीय छोरी छिन् । अहिले उहाँ पनि छोरीसहित गाउँ आउनुभएको छ । पाख्रीबास नगरपालिकाले उहाँकी छोरीको शिक्षामा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने वडा नम्बर १० का वडाध्यक्ष हरि खत्रीले बताउनुभयो ।