शेरबहादुर सार्की
बाजुरा, असोज ११ गते । बाजुराको मार्तडी–कोल्टी सडक चार महिनापछि पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले मर्मतको काम सुरु गरेसँगै गत शुक्रबारदेखि सो सडक पुनः सुचारु भएको हो ।
यहाँका पालिकालाई समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँ अगावै सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा जिल्लाको पुर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आउनु परेको थियो ।
यती बेला सो सडक सुचारु भए पनि भने यहाँका स्थानीयलाई दसैँ तिहारमा गाउँमा आउव जावत गर्न निकै सहज भएको छ ।
विगत चार महिनादेखि अवरुद्ध सडक बल्ल सुचारु भए पनि यती बेला कोल्टीदेखि जिप मार्तडीमा आउजाउ भएको चालक बुढीनन्दा नगरपालिका स्थानीय जिप चालक रामबहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा गत जेठको अन्तिममा जिप कोल्टीमा रोकिएका थिए ।” यती बेला दसैँ अगावै बाटो मर्मत भएपछि अहिले कोल्टीदेखि मार्तडी सञ्चालन गर्ने गरेको कार्कीले बताउनुभयो ।
पानी पर्न नरोकिएकै कारण मार्तडी–कोल्टी सडक मर्मत गर्न सकेको थिएन । यती बेला पानी राकिएकोले मर्मत सम्भारको काम सुरु गरेसँगै बाटो सुचारु भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका जङ्गबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी सँग डोजर थिएन् । तै पनि हामी यहाँका स्थानीय तहलाई समन्वय गरेर बुढीनन्दा नगरपालिकाको डोजर भाडामा लिएर काम सुरु गरेका हौ ।”
पालिकाले प्रति घण्टा डोजर चलाए वाफत सात हजार पाँच सय भनेको छ । तर हामीले नेपाल सरकारको प्रचलित दर रेट अनुसार चार हजार ७४१.९३ का दरले डोजर प्रयोग गरेवाफत रकम दिने थापाले बताउनुभयो ।
मार्तडीदेखि कोल्टीसम्म झण्डै ४२ किलोमिटर मात्र सडक पर्छ । यसमा झण्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ । यता बुढीनन्दा नगरपालिकाको क्षेत्रमा २८ किलोमिटर पर्छ । बर्खाको पानीले यो सडक तहस नहस पारेपछि यहाँ चल्ने सवारी साधन विगत चार महिनादेखि मार्तडीमै रोकिएका थिए ।
गत जेठको अन्तिमदेखि जिल्लीमा गएको पहिरोले सडक अवरुद्ध पारेको थियो । पानी पर्दै गरेका कारण त्यहाँ सफा गर्न सकिएको थिएन । यती बेला यहाँका बुढीनन्दा बडीमालिका र भौतिक पूर्वाधार विकास कार्यालय अछामलाई दशै अगावै बाटो सुचारु गर्ने गरी पहल गर्दै आएपपछि बल्ल सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताउनुभयो ।