रवीन्द्र उप्रेती
बर्दीबास, असोज ५ गते । प्रहरीले महोत्तरीको बर्दीबास ३ गौरीडाँडास्थित बीपी राजमार्गमा सवारी चेकजाँच गर्दा ९७ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायसलाई आइतबार बिहान चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।
प्रहरीले चालक नजिकैको सीटमा बसेका सिराहा मिर्चैया नगरपालिका–६ का २४ वर्षीय रोहित महतोको साथबाट लागुऔषध फेला पारेको जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासका प्रमुख सरोज अधिकारीका अनुसार महतोको साथमा रहेको खैरो रङको हाफ कट्टु तलासी लिँदा सेतो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागुऔषध भेटिएको थियो ।
बरामद ब्राउन सुगरलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १०२ ग्राम २५० मिलिग्राम र शुद्ध तौल ९७ ग्राम १६० मिलिग्राम रहेको अधिकारीले जनाउनुभयो ।
‘बर्दीबासमा पक्राउ परेको यो अहिलेसम्मकै ठुलो परिमाण हो’ अधिकारीले भन्नुभयो । ब्युरोले पक्राउ परेका महतोसहित बरामद ब्राउन सुगरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाएको छ ।
यस अघि भदौ ८ र १७ गते पनि ब्युरो प्रमुख अधिकारीकै टोलीले बीपी राजमार्गबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको थियो ।