• ९ साउन २०८२, शुक्रबार

कांग्रेसले प्रशिक्षक तयार गर्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ८ गते । जलवायु परिवर्तनले नेपालमा अझै बढी प्रतिकूलता सिर्जना गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेस प्रशिक्षकको टोली तयार गर्दै छ । राज्यको उच्च नेतृत्वबाट जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको सङ्कटबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाइरहँदा कांग्रेसले देशभरि परिचालन गर्ने गरी प्रशिक्षकको टोली बनाउने गृहकार्य आरम्भ गरेको हो । 

कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले प्रशिक्षक टोली बनाउन १०० दिनको प्रशिक्षण सञ्चालन गरिरहेको छ । 

कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख कल्याणकुमार गुरुङका अनुसार पहिलो चरणमा ८० जनाले जलवायु परिवर्तनको असरका सन्दर्भमा सचेतना जगाउन ३० दिने प्रशिक्षण लिनुभएको छ । उहाँले भन्नुभयो, “११४ प्रशिक्षकले प्रशिक्षण दिनुभयो । सगरमाथा आरोहीसहित नौ जना विशेषज्ञले पनि विशेष प्रशिक्षण दिनुभयो । यही टोलीलाई अब ३५/३५ दिन गरेर १०० दिन प्रशिक्षण दिएपछि प्रशिक्षक टोली तयार पारिने छ ।”

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमले जलवायु परिवर्तनसँग सम्बन्धित विविध आयाममा गहन छलफल गर्न अवसर प्रदान गरेको र यसले सहभागीमा रहेको ज्ञान, अनुभव र क्षमता उजागर गरे, आपसी सिकाइ र विचार आदानप्रदानको महत्वपूर्ण थलो तयार गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्व मौसम सङ्गठनका अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ । यो तथ्यले पेरिस सम्झौता अन्तर्गत निर्धारित १.५ डिग्री सेल्सियसको लक्ष्य अझै सम्भव भए पनि गम्भीर जोखिममा रहेको स्पष्ट सङ्केत गर्छ । यसैले अब गम्भीर र दु्रत उत्सर्जन कटौती अपरिहार्य भएको छ ।” उहाँले विकासोन्मुख देशलाई आवश्यक जलवायु वित्त सहयोग प्रदान गर्ने दायित्व पनि झनै बढेको र जलवायु प्रभावको सामना गर्न र दिगो विकासको मार्गमा अगाडि बढ्न सहयोग पु¥याउने बताउनुभयो ।