• ५ साउन २०८२, सोमबार

धारिलो हतियार प्रहारबाट एकको मृत्यु

blog

फाइल तस्बिर

बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन ५ गते । सिन्धुलीको दुधौली नगरपालिका –१ स्थित मधुगङ्गा महादेव मन्दिरमा बोलबम मेलामा आएका एक जना भक्तजनको सोमबार धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

मृत्यु हुने व्यक्ति तराईमूलको अन्दाजी ३० वर्षीय पुरुष रहेको र निजको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घटनास्थलबाट प्रहरीले एक थान छुरी र हँसिया फेला पारेको छ । 

दुधौली नगरपालिका –२ लामिडाँडा घिसिङ्टोल निवासी पदमबहादुर घिसिङकाे घर नजिकै रहेको गाईगाेठमा उहाँको शव फेला परेको थियो । उक्त मन्दिरको दर्शन गर्न आएका १०–१२ जनाको एक समूहमा आपसी विवाद हुँदा छुरी प्रहारबाट निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक पुरुष व्यक्तिको छातीमा धारिलो हतियारले हानेको देखिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गाेठमा १०–१२ जनाको समूहमा मानिसहरु आएका थिए ।

आपसी विवाद भएपछि उनीहरु भागेको स्थानीयले बताएका छन् । उनीहरुले बोलेको भाषा पनि आफूहरुले नबुझेको स्थानीयले बताएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

प्रत्येक वर्ष सो मन्दिरमा साउन महिनाभरि बोलबम मेला लाग्ने र मेला भर्न तराईका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, बारा, पर्सालगायतका जिल्लासहित भारतका विभिन्न ठाउँबाट बोलबम तीर्थयात्री आउने गरेका छन् । मन्दिरमा यो वर्ष पनि बोलबम मेला सुरु भइसकेको स्थानीयले बताएका छन् ।