• ५ साउन २०८२, सोमबार

उपल्लो मुस्ताङ जोड्ने सडक सञ्चालनमा

blog

जोमसोम–कागबेनी हुँदै–कोरला सडकमार्ग मर्मतपछि सुचारु ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन ५ गते । अविरल वर्षासँगै आइतबार बिहानैदेखि अवरुद्ध भएको उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन जोमसोम–कागबेनी हुँदै–कोरला सडकमार्ग मर्मतपछि सुचारु भएको छ । 

सडक माथिबाट खसेको बाढी र पहिरोले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३, छुसाङस्थित ताङ्वे खोला र मुस्ताङ गेटमा सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जोड्ने सडक सञ्जाल विच्छेद भएको थियो। बाढीले अवरुद्ध गरेको सडकमार्ग उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । 

अवरुद्ध सडक आइतबारदेखि पन्छाउन सुरु गरिए पनि लेदो नरोकिएपछि सोमबार बिहानैदेखि डोजरको सहायताले मर्मत गरी बिहान ११ बजेमात्रै अवरुद्ध हटाएर सवारी साधन आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो । 

प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, ‘‘सडकखण्ड नजिकै वैकल्पिक मार्ग भए पनि जोखिम छ, अहिले नियमित सवारी साधन आवतजावत भइरहेको छ ।’’ सडकखण्ड सुचारु भएपछि उपल्लो क्षेत्रबाट सदरमुकाम जोमसोम हुँदै विभिन्न जिल्लामा जाने पर्यटकहरू सवार सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

जलवायु परिवर्तनका कारण उपल्लो क्षेत्रमा समेत वर्षासहित बाढीपहिरोले सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुदाँ उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई समस्या भएको थियो । वर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ग्रामिण सडकमा समेत समस्या रहेको छ । पछिल्ला वर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेको छ ।