गुणबहादुर रोका
सुलीकोट, असार ५ गते । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा १२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना–एमक्याप) का अनुसार उत्तरी गोरखाको मनास्लु क्षेत्र पर्यटकको प्रमुख गन्तव्य भएकाले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म एक आर्थिक वर्षको अवधिमा उत्तरी गोरखाको मनास्लु क्षेत्रमा १२ हजार ५१२ जनाले भ्रमण गरेका हुन् ।
मनास्लु क्षेत्र विदेशी पर्यटकको मुख्य रोजाईमा रहेको प्रमुख ट्रेकिङ रुट हो, मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ( एमक्याप) गोरखाका प्रमुख सन्तोष सेरचनले भन्नुभयो, ‘अन्य ट्रेकिङ भत्किदै गएका छन्, यो रुट भने अहिलेसम्म जस्ताको तस्तै छ । त्यस्तैले मनास्लु क्षेत्र आउने पर्यटकहरू सङ्ख्या बढेको छ ।’
उत्तरी गोरखामा चर्चित पदमार्ग, सांस्कृतिक एंवम भौगोलिक विविधता, विश्वकै एकमात्र अंहिसा क्षेत्र, मनास्लु हिमाल आरोहण, लार्के पास, चुमभ्याली क्षेत्रको अवलोकनका लागि पर्यटकहरू उत्तरी गोरखा पुग्ने गरेका चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
यस मनास्लु क्षेत्रलाई पर्यटकिय केन्द्रको रूपमा विकास गर्न चुमनुब्री गाउँपालिकाले बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । अहिले बेनिघाट, आरुघाट र लार्के सडकले ट्रयाक नयाँ मार्ग खोल्ने क्रममा पर्यटकहरू हिँड्ने पैदल मार्ग मासिएकाले नयाँ पदमार्ग निर्माण लगाएत पर्यटन विकासको लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको पालिका अध्यक्ष लामाले बताउनुभयो ।
मनास्लु क्षेत्र पुग्ने पर्यटकका लागि गाउँपालिकाले रुबीनाला–दुधपोखरी वैकल्पिक मार्गको रूपमा विकास गरिएको छ, अध्यक्ष लामाले भन्नुभयो, "अन्य पदमार्ग निर्माणको गरी मनास्लु क्षेत्रलाई देशकै पर्यटकिय गन्तव्य बनाउन गाउँपालिकाले विभिन्न योजना निर्माण गरिरहेको छ ।"
केहि समय अगाडि पालिकाले प्रदुषण तथा डडेलो मुक्त तथा सिसामुक्त पालिका घोषण गरेको थियो । चुमनुब्री गाउँपालिका जैविक विविधताको खुला सङ्ग्रहालय मनास्लु क्षेत्र रहेको पर्यटकहरू बढ्नु स्वाभाविक भएको उहाँको भनाइ छ । चुमनुब्री गाउँपालिका ऐतिहासिक र फरक भुगोलका कारणले पनि पर्यटकहरू यस ठाउँमा आउने गरेका हुन् ।
अहिले चुमनुब्री गाउँपालिकामा मानिस जनावरको बिच पारिवारिक सम्बन्ध कायम गरी अहिंसाको सन्देश फैलाउन गाउँपालिका सफल भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ७ सय ८३ जना विदेशी पर्यटकहरूले मनास्लु क्षेत्रको भ्रमण तथा अवलोकन गरेका थिए भने यस आर्थिक वर्षमा २ हजार ७२९ जना पर्यटक बढेर १२ हजार ५१२ जना पुगेको एकक्याप गोरखाको तथ्याङकमा उल्लेख छ । यस वर्ष पर्यटकबाट ३ करोड ६९ लाख ९९ हजार दुई सय रुपैयाँ प्रवेश शुल्क वापत सङ्कलन भएको छ ।
पर्यटकिय पदमार्गमा पर्यटक चेक पोस्ट तथा सुचना केन्द्र व्यवस्थापन, लोकेसन बोर्ड मर्मत तथा जडान, पदमार्गमा सरसफाइ अभियान, तरकारी बिउबिजन वितरण र पदमार्गमा साइनबाेड जडान गर्ने कार्य धमाधम भइरहेकाले पनि आगमी दिनहरूमा पर्यटकको सङ्ख्या बढ्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ ।