घोराही (दाङ), असार २५ गते । दाङमा निर्माण व्यवसायीको लापर्बाहीका कारण दुई वर्षमा स्तरोन्नति गरिसक्नुपर्ने सडक चार वर्ष बितिसक्दा करिब ३५ प्रतिशत मात्र सकिएको छ । घोराही–मसिना–मर्पेस–बोचपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने ग्रामीण सडक निर्माण व्यवसायीको लापर्बाहीका कारण स्तरोन्नति हुन सकेको छैन ।
घोराही–मसिना–मर्पेस–बोचपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सडक अन्तर्गत घोराही उपमहानगरपालिका–१८, सिस्नेखोला पुलदेखि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नति दुई वर्षभित्र सक्ने गरी २०७८ वैशाखमा स्वच्छन्द वल्र्ड वाइड जेभी काठमाडौँसँग करिब १२ करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त रुपियाँमध्ये करिब पाँच करोड खर्च भएको छ ।
ठेक्का सम्झौता अनुसार २०८० वैशाख मसान्तभित्र सक्नुपर्ने काम अहिलेसम्म आधा पनि हुन सकेको छैन । जसले गर्दा उक्त सडक भएर स्वर्गद्वारी दर्शन गर्न जाने भक्तजनसँगै बङ्गलाचुलीवासीलाई घोराही आउन समस्या हुने गरेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार निर्माण कम्पनीले अहिलेसम्म करिब ३५ प्रतिशत सडक स्तरोन्नतिको काम गरेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्यालले उक्त सडक अन्तर्गत मसिनादेखि पाखापानीसम्मको केही स्थानमा साँघुरो सडक विस्तार गर्नेदेखि नाला निर्माण, कलभर्ट, ह्युमपाइप राख्नेदेखि पहिरोको जोखिमयुक्त ठाउँमा वाल लगाउनेदेखि जाली राख्ने काम गरेको जानकारी दिनुभएको छ ।
ठेक्का सम्झौता अनुसार २०८० साल वैशाखसम्म सडक स्तरोन्नतिको काम नसकिएपछि कार्यालयले पहिलो पटक २०८१ फागुनसम्मका लागि म्याद थप गरेको थियो । कार्यालय प्रमुख अर्यालले उक्त समयमा पनि निर्माण व्यवसायीले काम नगरेर सडक अलपत्र पार्ने काम गरेको बताउनुभयो । समयमै काम सम्पन्न गर्न कार्यालयले पटक पटक ताकिता गर्दा पनि निर्माण व्यवसायीको बेवास्ताका कारण सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “निर्माण व्यवसायीलाई काम गर्न भन्दाभन्दै हामी आजित भइसक्यौँ तर काम हुन सकेको छैन ।”
उहाँले म्याद थप गर्दा पनि सडकको काम नहुने अवस्था देखेपछि अहिले म्याद थप नगरेको बताउनुभयो । सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द वल्र्ड वाइड जेभीले काम नगरेर पेटी ठेकेदारका रूपमा जेएनबी कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । कार्यालय प्रमुख अर्यालले उक्त निर्माण कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै सडक निर्माणको ठेक्का पाएको स्वच्छन्द वल्र्ड वाइड जेभीले म्याद थप भएमा आफैँ काम गर्ने बताएको बताउनुभयो ।
उहाँका अनुसार निर्माण कम्पनीले म्याद थपका लागि सडक पूर्वाधार कार्यालयमा निवेदन दिएको छ । उहाँले सम्झौता मितिमा सडक स्तरोन्नतिको काम नसकिएपछि स्वच्छन्द वल्र्ड वाइड जेभीले म्याद थपका लागि निवेदन दिएको तर कार्यालय म्याद थपको पक्षमा नरहेको बताउनुभयो । खरिद ऐनको १४ औँ संशोधन अनुसारको म्याद थपका लागि निर्माण व्यवसायीले आग्रह गरे पनि उक्त सडक निर्माणमा निर्माण व्यवसायीकै तर्फबाट ढिलाइ भएकाले अहिलेसम्म म्याद थपका प्रक्रिया अघि नबढाएको बताउनुभयो । बङ्गलाचुली गाउँपालिका–२ निवासी बलदेव मल्लले स्तरोन्नतिमा ढिलाइ हुँदा बर्सातको समयमा सडकमा पहिरोसँगै खाल्डाखुल्डीका कारण सडक अवरुद्ध हुने स्थानीयलाई घोराही बजार आउनसँगै तीर्थयात्रीलाई प्युठानको स्वर्गद्वारीसँगै स्युजामा रहेको उजा भगवतीको मन्दिर जान समस्या हुने गरेको बताउनुभयो ।