तम्घास समाचारदाता
तम्घास, असार २५ गते । गुल्मी र पर्वत जोड्ने पक्की पुल यतिबेला दैनिकी चलाउने माध्यम बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा बनेको पक्की पुलको सहारा यतिबेला दैनिकी चलाउने सहज माध्यम बनेको हो ।
पर्वतको बिहादी गाउँपालिकाका कृषक सरिता चौधरी पौडेलको तीन वटा स्थायी टनेल छन् । उहाँको टनेलमा उत्पादित कृषि उपज अहिले सहज रूपमा सोही पुल हुँदै गुल्मीको पूर्तिघाटमा बिक्री गर्न सहज भएको छ । कालीगण्डकी नदीमा बनेको पक्की पुलले उत्पादित कृषि उपजलाई बजारसम्म लैजानका लागि सहज भएको बताउँदै उक्त पुल आफ्नो दैनिकीसँग जोडिएको उहाँको भनाइ छ । उहाँले उत्पादित कृषि उपजलाई सहजै बजारमा लैजान र आर्थिक रूपमा पनि यसले थप सहजता ल्याएकाले जीवनशैली परिवर्तनमा पुल नै मुख्य माध्यम बनेको बताउनुभयो ।
यस्तै अर्का कृषक केशव पराजुलीले पनि उक्त पुलले दैनिकीलाई थप सहज बनाएको बताउनुभयो । उहाँले आफूले दुई वटा स्थायी टनेलमा व्यावसायिक कृषि गरेकाले बजारसम्म लैजानका लागि सहज भएको बताउनुभयो ।
यसका साथै उक्त पुलहुँदै पोखरासम्म जानका लागि पनि दुरी कम भएको सवारीचालकले बताउँदै आएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाटका लिलबहादुर केसीले गुल्मी र पर्वतको सम्बन्धलाई थप नजिक बनाएको र उत्पादित कृषि उपजलाई बजारसम्म ल्याउन थप टेवा पुगेको बताउनुभयो । पर्वतको ताजा तरकारी एकाबिहानै बजारसम्म आउने भएकाले पनि बुटवलबाट आउने सुकेको तरकारी खाने बाध्यता अहिले नभएको उहाँको भनाइ छ ।
तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँबिच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।
पछि सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजना हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुने गरी दायित्व हस्तान्तरण भएको हो ।
केही महिनापहिले उक्त पुलको निर्माण कार्य सम्पन्न भई गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्नुभएको थियो । २०७३ सालमा आफूले उक्त पुलका लागि पहल गरेको बताउँदै ढिलै भए पनि सार्थकता पाएको उहाँको भनाइ छ । यस पुलले सहजै रूपमा पोखरासम्म र कालीगण्डकी कोरिडोरलाई जोड्ने भएकाले यस क्षेत्रका नागरिकको जीवनशैलीमा समेत परिवर्तन ल्याउने उहाँको दाबी छ ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।