बागलुङ समाचारदाता
बागलुङ, असार २५ गते । गत शुक्रबार पश्चिम बागलुङको बडीगाड गाउँपालिका–२, खरबाङस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले धान रोपाइँ गरेका छन् । यसपालि विद्यार्थीले हिउँदमा लगाएको मकै र तोरीसमेत राम्रो उत्पादन हुँदा शिक्षक, विद्यार्थी निकै खुसी भए ।
त्रिभुवन माविका शिक्षकले खेतबारीमै लगेर विद्यार्थीलाई अन्नबाली लगाउन सिकाउन थालेको चार वर्ष भएको छ । विद्यालयकै जमिनमा भने तीन वटा प्लास्टिकका हाइटेक टनेलसमेत छन् । ती टनेलमा गोलभेँडा, बोडी, खुर्सानीलगायतका तरकारी खेती लगाइन्छ । अन्नबाली र तरकारी खेतीबाट विद्यार्थीले कमाइ गरेका छन् ।
तरकारी र अन्नबाली बिक्रीबाट भएको आम्दानीलाई आवश्यकता अनुसार खर्चिने गरेको प्रधानाध्यापक ढालमणि भण्डारीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले दिएको दुई लाख बिउ पुँजीबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थी मिलेर तरकारी र अन्नबाली लगाउँदै आएका छन् ।
शैक्षिक सामग्रीलगायत स्वास्थ्य तथा सरसफाइका सामान खरिद गर्नका लागि यो कमाइले सहयोग पुगेको भण्डारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बालबालिकाले काम पनि सिक्ने, बचत गर्ने र सदुपयोग गर्ने पद्धति पनि सिकाइ हुने रहेछ । पढाएकोभन्दा एक दिन टनेलमा पुगेर काम गर्दा धेरै स्मरण गर्न सक्छन् ।” विद्यालयका एक सय विद्यार्थीले पालैपालो काम गर्छन् । विद्यार्थीलाई कमाउँदै, पढ्दै अभियानमा जोडिएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । त्यसै गरी गलकोट नगरपालिका–३ को गलकोट माविले पनि भाडामा लिएको जग्गामा तरकारी खेती गरेको छ । गलकोटमा कृषि प्राविधिक शिक्षक नै भएकाले खेतीपाती लगाउने र कमाउने काम मात्र होइन, बाली विज्ञानको जानकारीसमेत विद्यार्थीले पाउन थालेका छन् । गोलभेँडाको पात घुम्रिने समस्यादेखि पानीको अभावमा कृषि बालीमा पर्ने असरबारे विद्यार्थीले पढ्न पाएका छन् । विज्ञानका शिक्षक गङ्गाराम सुवेदीले प्लास्टिक टनेलमा गरिने तरकारी खेतीदेखि बाहिरको अन्नबालीबारे धेरै कुरा सिकाउने गर्नुभएको छ ।
कस्तो वातावरणमा कुन तरकारी र बाली लगाउन सकिन्छ भन्नेसमेत शिक्षकले पढाउने भएकाले घरमा पनि विद्यार्थीले अभिभावकलाई सहयोग गर्न सकेको कक्षा १२ का छात्रा विन्दु बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो, “कक्षाकोठामा मेहनत गरेर पढ्ने पढाउनेभन्दा विद्यार्थी खेतबारीमै पुगेर कृषि कर्ममा रमाउने गर्छन् । राम्रो कृषि फसल उत्पादन गरेर कमाइ पनि गरेका छन् ।” वार्षिक ४० हजार तिर्ने गरी भाडामा लिएको झन्डै १० रोपनी जमिनमा तीन वटा प्लास्टिकका हाइटेक र अन्य जमिनमा पनि खेतीपाती गरिन्छ । हाइटेकमा गोलभेँडा, काउली, बन्दागोबी, खुर्सानी, साग, मुलालगायतका तरकारी र खेतमा तोरी, गहुँ, धानलगायतको उत्पादन गरिन्छ । विद्यालयले विज्ञान सङ्काय अन्तर्गत कृषि विषयको पढाइ पनि सञ्चालन गरेको प्रधानाध्यापक देवेन्द्र खत्रीले बताउनुभयो ।