• २५ असार २०८२, बुधबार

मकै पोलेर जीविकोपार्जन

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असार २५ गते  ।  कतिपय बासिन्दाले जाजरकोट सदरमुकाम खलङ्गा बजारमा मकै पोलेर बिहान बेलुकाको छाक जुटाउने गरेको पाइएको छ । भेरी नगरपालिका–१२, धाइरागाउँकी कृष्णा भण्डारीले गाउँमा ज्याला मजदुरी नपाएपछि सहर पसी मकै पोलेर जीविकोपार्जन गर्नुभएको छ । सहरमा आइ उहाँले मकै पोलेर आमासहित पाँच दिदीबहिनीको छाक टार्नुभएको छ । 

गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भई गाउँमा रोजगारी नपाएपछि सदरमुकाममा ज्याला मजदुरी गरी आमा र तीन भाइबहिनी ल्याएर सदरमुकाम आएकी भण्डारीले मकै पोलेर कमाएको आम्दानीले बिहान बेलुकाको छाकको जोहो गर्नुभएको छ । गाउँमा आम्दानीको स्रोत नहुँदा आमा, भाइबहिनीलाई च्यापेर सदरमुकाम पसेको उहाँको परिवारले मासिक तीन हजार पाँच सय रुपियाँमा कोठा भाडा लिएर बसेको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३, ठाँटी बजार हुलाक कार्यालयको छेउ सडक बाटोमा त्रिपाल टाँगेर उहाँले पोलेको मकै बिक्री गर्नुभएको छ । 

उहाँका अनुसार भेरी नगरपालिका–१, कालेगाउँ, रावतगाउँ, पिपे बिहान गएर १५ रुपियाँ दरले ल्याउने दिउँसो पोली ३० रुपियाँमा बिक्री गरी खर्चको गर्जो टार्ने गरिएको छ । उहाँका भाइबहिनी सामुदायिक विद्यालयमा पढ्ने गरेका छन् । बिहान मकै लिन गाउँतिर जाने, दिउँसो मकै पोलेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । मकैबाट आएको आम्दानीले पाँच जना परिवार पाल्ने गरेको र त्यो पनि कठिनाइ हुने गरेको उहाँले जनाउनुभयो । 

भेरी नगरपालिका–२ को ठाँटी बजार, तल्लो थाप्ले, वडा नम्बर–४, शान्तिचौतारालगायतका सर्वसाधारण बढी जम्मा हुने ठाउँमा त्रिपाल टाँगेर मकै पोल्ने गरिएको छ । मकैबाट प्रतिदिन एक हजार रुपियाँ कमाउने गरेको उहाँको भनाइ छ । बेमौसमी रूपमा उत्पादन गरेका मकै खानलाई सर्वसाधारणको भिड लाग्ने गरेको छ । तिस रुपियाँमा बिक्री गर्ने मकै ग्राहकले २० रुपियाँ छोडेर जाने गरेको दुखेसो उहाँले बताउनुभयो । 

गरिब, दलित, विपन्न, आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले सिजन अनुसारका कामबाट जीविकोपार्जन गरेका छन् । स्थानीय सरकारले वास्तविक गरिबको पहिचान नगर्दा दुःख गरी छाक जुटाउने गरेका छन् । कृषि पेसाबाट विपन्नलाई आत्मनिर्भर बनाउन भेरी नगरपालिका अन्तर्गत कृषि विकास शाखा, कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विकास कार्यक्रमलगायतले कृषि पेसामा संलग्न किसानले नपाएर बिचौलियाले सहयोग पाउने गरेपछि वास्तविक कृषि पेसा गरी खाने जनता ज्याला मजदुरी गर्न बाध्य छन् ।