• २५ असार २०८२, बुधबार

च्याउ खाँदा सावधानी अपनाउन सुझाव

blog

शारदा समाचारदाता  

शारदा (सल्यान), असार २५ गते । वर्षायाममा च्याउको उपभोग अत्यधिक हुने भएकाले सावधानी अपनाउन वनस्पतिविज्ञले सुझाव दिएका छन् । विषालु च्याउको सेवनले मानिसको मृत्यु नै हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ । यस सन्दर्भमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सचेतना अभियान सञ्चालन गरिरहेको छ । 

वर्षा लागेसँगै वनजङ्गल, झाडी र खेतबारी छेउछाउमा विभिन्न किसिमका च्याउ उम्रिन थालेका छन् । उम्रिएका च्याउमध्ये कैयौँ अत्यन्तै विषालु रहेको र जसको सेवनले गम्भीर बिरामी वा ज्यानसमेत जान सक्ने भएकाले सतर्कता अपनाउन अनुसन्धान केन्द्रले आग्रह गरेको हो । 

अनुसन्धान केन्द्रका अनुसार नेपालमा करिब १३ सय प्रजातिका च्याउ पाइने गरेकोमा तीमध्ये एक सयभन्दा बढी प्रजाति विषालु रहेको छन् । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले भन्नुभयो, “केही प्रजाति त यस्ता छन्, जसको सानो मात्रा सेवनले पनि मानिसको मृत्यु हुन सक्छ ।” 

च्याउको गन्ध, स्वाद वा रङ हेरेर मात्र विषालु हो कि होइन भन्ने छुट्याउन नसकिने भएकाले शङ्का लागेमा च्याउ नखानु नै सुरक्षित हुने उहाँको भनाइ छ । विषालु च्याउ खाँदा वान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, मिर्गौलामा समस्या आउने, चेतना हराउने र मृत्युसमेत हुन सक्ने जोखिम हुने डा. पाठकले बताउनुभयो । बच्नका लागि सुझाव दिँदै उहाँले भन्नुभयो, “पहिचान नखुलेको च्याउ नखानुहोस् । असहज लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।” सावधानी नै मुख्य सुरक्षा रहेको उहाँको भनाइ छ ।  

अति विषालु च्याउका प्रजाति 

नेपालमा पाइने घातक विषालु च्याउमध्ये अमेनिटा भाइरोसा पनि एक रहेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । यो च्याउ प्रायः जङ्गल, झाडी र सिँचाइ भएका सल्लो तथा बाक्लो वन क्षेत्रमा पाइन्छ । यस्तै अमेनिटा कन्सेन्ट्रीका नामको विषालु च्याउ पनि खेत, झाडी र सिँचाइ भएका बाक्लो सल्लो वन क्षेत्रमा देखिने गरेको छ । 

केन्द्रका अनुसार अमेनिटा लङगिस्ट्रियाटा, अमेनिटा फालोइडेस र अमेनिटा सबग्लोबोसा पनि खेत, झाडी तथा सिँचाइ भएका वन क्षेत्रमा फैलिएको पाइन्छ । यी सबै च्याउ अत्यन्त मिल्दोजुल्दो देखिने तर घातक विष बोकेका हुन्छन् । अमेनिटा भर्ना प्रजातिसमेत सल्लो वन र झाडीमा उम्रने विषालु च्याउको सूचीमा पर्छ । 

अमेनिटा समूहबाहेक अन्य केही विषालु च्याउमा ग्यालेरीना मर्जिनाटा रहेको छ । तराईदेखि उच्च पहाडसम्मका स्याउ, सल्लो, खेत र झाडीमा यो च्याउ पाइन्छ । यस्तै माइसिना पुरा नामको च्याउ पनि सिँचाइ भएका खेत, झाडी तथा सल्लो वन क्षेत्रमा फस्टाउँछ । यसै गरी पाक्सिलस इनभोलुटस नामको च्याउ पनि हाल नेपालमा खतरनाक विषालु च्याउको रूपमा चिनिएको छ ।