• १० असार २०८२, मङ्गलबार

समृद्धिमै खुसी

blog

मानिस कसरी सुखी हुन सक्छ भन्ने बारेमा विश्व चर्चित दार्शनिक तथा विद्वान्हरूले लामो अध्ययन गरेका छन् । इसापूर्व ३८० मा दार्शनिक अरिस्टोटलले ‘निकोम्यान इथिक्स’ मा ‘मानव चाहनाको पूर्ति र आनन्दको अवस्था’ लाई सुखी भने । रिपब्लिकामा दार्शनिक प्लेटोले ‘जो नैतिकवान् हुन्छ, उही खुसी र सुखी हुने’ तर्क गरे ।

यस्तै गौतम बुद्धले ‘मनको शान्ति’ नै मानव सुखी हुने आधार माने । अक्सफोर्ड अङ्ग्रेजी डिस्नरीमा ‘सुखी मानसिक उत्तेजनाको त्यो अवस्था हो जसमा जीवनको खुसी, आनन्द प्राप्त हुन्छ’ उल्लेख गरिएको छ । निजी स्वतन्त्रता, विधिको शासन, प्रजातन्त्र, मानव अधिकार, जनउत्तरदायी र जवाफदेही शासन तथा सरकार, संविधानवाद, नागरिक अधिकार, कानुनी शासन जस्ता मूल्य मान्यता अँगाल्ने मुलुकमा सुखीको स्तर उच्च देखिएको छ । यसले मानिसको निजी चाहना, स्वतन्त्रता र सम्मान सर्वाधिक प्रमुख विषय भएकोतर्फ सङ्केत गर्दछ । 

खुसी हुनु र सुखी हुनुमा धेरै फरक हुन्छ । मानिस सानो कुरा र कार्य सम्पन्न भए पनि खुसी हुन सक्छ । खुसी क्षणिक र अस्थायी हुन्छ । सुखी हुनुचाहिँ मानव जीवनका अनेकौँ मापदण्ड पूरा हुनु, सेवा र सुविधा उपलब्ध हुनुदेखि लिएर राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयका सबै स्थापित मूल्यका आधारमा समृद्ध हुनुलाई मानिन्छ । 

आधुनिक युगको चर्चा गर्दा सन् १७७६ को अमेरिकी स्वतन्त्रता सङ्ग्रामको घोषणामा थोमस जेफरसन (इस्वी संवत् १७४३–१८२६) ले ‘परस्युइट अफ ह्याप्पिनेस’ लाई मानिसको स्वतन्त्रता जस्तै महत्व दिए । बेलायतका विधिशास्त्री जेरेमी बेन्थम (इस्वी संवत् १७४८–१८३२) ले ‘युटिलिटी’ (उपयोगिता) को पक्षलाई स्थान दिनुपर्ने उल्लेख गरे । उनले ‘ग्रेटेस्ट ह्याप्पिनेस अफ दी ग्रेटेस्ट नम्बर अफ दी पिपुल’ अर्थात् बहुसङ्ख्यक जनताको खुसीलाई विधिशास्त्र र कानुनको प्रमुख आधार माने । कानुनले ‘पेन’ लाई ‘एभ्वाइट’ गरेर ‘प्लेजर’ लाई बढाउन सक्नुपर्ने उनको मत रह्यो ।

मानिस स्वस्थ भएर बाँच्ने, परिवार, मानवीय आवश्यकताको परिपूर्तिसहित मानव इच्छा र चाहनाको पूर्ति हुन सक्ने अवस्थामा सुख प्राप्त हुने सुनिश्चित हुन्छ । जर्मनीका दार्शनिक हेगेल (इस्वी संवत् १७७०–१८३१) ले ‘आइडालिज्जम’ (आदर्शवाद) बाट मानवको सबै आवश्यकता पूर्ति हुने भनेका छन् । उनले धनी–गरिब हुने कुरालाई धर्म र पापसँग जोडे । जर्मनीका अर्का दार्शनिक कार्ल माक्र्स (इस्वी संवत् १८१८–१८८३) ले आइडालिज्जमको ठाउँमा ‘मेटरालिज्जम’ को वकालत गरे । उनले द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गरी धर्मलाई अफिमसँग तुलना गरिदिए । धनी र गरिब हुने कुरा वर्गीय शोषण हो भन्ने तर्क माक्र्सको रह्यो ।

त्यसपछि खुसीको व्याख्या, परिभाषा र बुझाइमा परिवर्तन आयो । भौतिकवाद र विज्ञानवाद, स्वतन्त्रता र प्रगतिको वकालत विश्वभर हुन थाल्यो । विज्ञानवादले आर्थिक र भौतिक सम्पन्नतालाई सुखीको आधार मान्यो । आर्थिक, भौतिक सुविधा, जीवनको सन्तुष्टि, सामाजिक र मनोवैज्ञानिक विषयका साथै नवीन विचारका रूपमा ‘फ्रिडम एन्ड सेल्फ कन्ट्रोल’ जस्तो अवधारणलाई ‘ह्याप्पिनेस’ को आधार मान्न थालियो । 

पुँजीवादी दर्शनका अनुयायी म्याक्स वेभरले माक्र्सलगायतको सिद्धान्तको चर्को आलोचना गरे । उनले मानिसको समृद्धिको आधार ‘वेस्टन सिभिलाइजेसन’ हो भने । दार्शनिकले समृद्धिका लागि आर्थिक पक्षमा मात्र जोड नदिई व्यक्तिको निजी स्वतन्त्रता, चाहना तथा अधिकारको सुरक्षा र संरक्षण गर्नुपर्ने भने । 

दिगो विकासको आधुनिक मान्यताले समृद्धिका लागि आर्थिक वृद्धिलाई मात्र जोड दिन नहुने कुरा अघि सारेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तर्राष्ट्रिय संस्थाले समृद्धिको विश्वव्यापी अनुसन्धान गर्दै आएका छन् । समृद्धिका प्रमुख आधारमा आर्थिक वृद्धि, नागरिक र व्यक्तिको समग्र विकास, जीवनको स्तर आदिलाई मानिएको छ । 

विश्व बैङ्कको सन् २०२४ को प्रतिवेदनले प्रतिव्यक्ति आय बढी भएका मुलुकमा अमेरिकीको सर्वाधिक धेरै (७६,३७० अमेरिकी डलर) रहेको देखाएको छ । अधिक प्रतिव्यक्ति आय भएका मुलुकमा बेलायत, जापान, नर्वे, आयरल्यान्ड, आइसल्यान्ड, फ्रान्स, सिङ्गापुर, स्विडेन, स्विट्जरल्यान्डलगायतका पश्चिमा मुलुक रहेका छन् । सबैभन्दा न्यून आय भएका देशमा अफगानिस्तान (प्रतिव्यक्ति आय ३९० अमेरिकी डलर) बुरुन्डी, चाड, कङ्गो, इथियोपिया, लाइबेरिया, माली, रुवान्डा, युगान्डा, यमन आदि छन् । 

विकास र समृद्धिमा अमेरिका पछि दोस्रो चीनको प्रतिव्यक्ति आय चाहिँ १२ हजार ८५० डलर रहेको छ । भारत उच्च मध्यम प्रतिव्यक्ति आय भएको मुलुकमा पर्दछ । जसको प्रतिव्यक्ति आय २३८० डलर रहेको छ । नेपाल पनि यही समूहमा देखिन्छ । नेपालको प्रतिव्यक्ति आय १३४० अमेरिकी डलर रहेको छ ।

सम्पन्न, विकसित र धनी हुँदैमा सुखी हुने ग्यारेन्टी छैन । सुखीको विश्वसूचीमा माथिल्ला पङ्क्तिमा युरोपेली प्रजातान्त्रिक मुलुक अगाडि छन् । सन् २०२४ मा प्रकाशित ‘वर्ड पपुलेसन रिभ्यु’ को प्रतिवेदन अनुसार फिनल्यान्ड विश्वको सर्वाधिक सुखी मुलुकमा प¥यो । डेनमार्क, आइसल्यान्ड, स्विडेन, नेदरल्यान्ड, नर्वे, लक्जेम्बर्ग, अस्ट्रेलिया र स्विट्जरल्यान्ड विश्वका प्रमुख १० सुखी हुने मुलुकको सूचीमा देखिए । 

खुसीलाई नाप्ने र व्याख्या गर्ने आआफ्नै सामाजिक तरिका भए पनि विश्वमा यो बढी विवादित पनि रहेको छ । अन्तर्राष्ट्रिय संस्थाले यसमा लामो अध्ययन र अनुसन्धान गरेका छन् । दार्शनिकहरूले निजी स्वतन्त्रता, सुरक्षा, सम्पत्ति र जिउधनको सुरक्षा तथा सम्मानको महत्व दर्साएको पाइन्छ  । ज्याँ ज्याक रुसो, इम्युनल कान्ट, जेरेमी बेन्थम, जोन लक, रोनाल्ड डोर्किन, एचएलए हार्ट, जोन रावल, अमत्र्य सेन जस्ता विधिशास्त्रीले मानिसको स्वतन्त्रता, न्याय, प्रजातन्त्र, विधिको शासन, मानव अधिकार र सहभागितामूलक प्रणालीको वकालत गरेको देखिन्छ । 

विगतका प्रतिवेदनमा पनि सुखीमा पश्चिमा र युरोपेली मुलुकको अवस्था उच्च देखिन्थ्यो । ‘वर्ड ह्याप्पी रिपोर्ट’ (सन् २०१८) को प्रतिवेदन अनुसार फिनल्यान्ड सबैभन्दा बढी सुखी मुलुक थियो । नर्वे, डेनमार्क, आयसल्यान्ड, स्विट्जरल्यान्ड त्यसपछि देखिएका थिए । सुखी हुने मुलुकमा सबैभन्दा माथि युरोपेली मुलुकहरू देखिनुले विकास, समृद्धि र खुसीको सम्बन्ध हुने कुरालाई सङ्केत गरिरहेको छ । 

सन् २०१७ को प्रतिवेदनमा भने नर्वे विश्वको नम्बर एक सुखी देश थियो । डेनमार्क, आइसल्यान्ड, स्विट्जरल्यान्ड, फिनल्यान्ड त्यसपछि थिए । नेपालको स्थान भने ९९ औँ थियो । नेपाल एक वर्षपछि सन् २०१८ मा दुई स्थान तल झरेर १०१ औँ भयो । सन् २०२४ को प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा पुगेको छ । जबकि भारतको १२६ औँ स्थान रहेको देखिन्छ । 

खुसीमा महत्वपूर्ण पूर्ण विषय समृद्धि हो । चिल्ला सडक, ठूला ठूला भवन, उद्योग–व्यापार र धनसम्पत्ति समृद्धिका सूचक हुन् । तापनि सम्पूर्ण सूचक होइनन् । क्याम्ब्रिज बिजनेस डिस्नेरीले समृद्धिका लागि भनेको छ, त्यस्तो अवस्था जहाँ जनतासँग सफलता तथा पर्याप्त आर्थिक साधन–स्रोत होस् । आजको आधुनिक समाज र मान्यताले पनि मानिसको निजी स्वतन्त्रलाई समृद्धिका लागि अनिवार्य तत्व मानेको छ । 

विगतमा मानिसले धनसम्पत्तिलाई बढी महत्व दिएका कारण धेरै धन हुने व्यक्तिलाई मूल्याङ्कन गरियो । वर्तमानमा त्यो विचार खण्डित हुँदैछ । धेरै धन आर्जन गर्नका लागि धेरै समय काम गर्नु आवश्यक पर्दछ भन्न सकिन्न । सूचना प्रविधिको बढी प्रयोग गरेर अमेरिका सर्वाधिक सम्पन्न भयो । आत्माको सन्तुष्टि र चैन नभई थुपारेको धनको अर्थ हुन्न । ‘बुद्धिजम’ मा समेत आत्मिक समृद्धिलाई जोड दिइएको पाइन्छ । समृद्धिबिनाको सुखीको औचित्य छैन । सुखी हुन समृद्धि आवश्यक पर्दछ । 

–युवामञ्च  

Author

डा. प्रेमराज सिलवाल