• ६ असार २०८२, शुक्रबार

रैथानीबाली कागुनो, झुमरो र चिनोको संरक्षण गरिँदै

blog

स्वामिकार्तिक खापर गाउँपालिका किसानले उत्पादन गरेको रैथाने बाली कागुनो र जाै । तस्बिर सौजन्य : भरतबहादुर रोकाया

बाजुरा, असार ६ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले रैथाने बाली कागुनो, झुमरो, चिनो, कोदो, मकैको संरक्षण अभियान सुरु गरेको छ ।  मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेको स्थानीय बाली पछिल्लो समय लोप हुने अवस्थामा रहेको भन्दै स्वामिकार्तिक खापर गाउँपालिकाले यसको संरक्षण अभियान सुरु गरेको छ ।

राम्रो उत्पादन हुने यो बालिलाई यहाँका कृषकहरूले गाउँमा यसको खासै खेती गर्न इच्छा नदेखाएपछि स्थानीय सरकारले पहल सुरु गरेको हो । पहिला गाउँमा सारै भोकमरी हुन्थ्यो । त्यति बेला कागुनो, झुमरो, कोदो र मकै लगायतको रैथाने बाली लगाउने गर्थ्यौ । अहिले गाउँमा सडक पुगेपछि घरमै दलेको दाल  र फलेको चामल पाउन थालेपछि यहाँका सबै स्थानीयले यसको खेती गर्न छोडेको स्वामिकार्तिक खापर गाउँपालिका स्थानीय नरबहादुर लहुारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसको बारेमा हामीलाई  खासै ज्ञान थिएन । यो बाली मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेछ । त्यसैले यती बेला यसलाई पालिकाले संरक्षण गर्न थालेको रहेछ । 

पहिला खानका लागि लगाउने गर्थ्यो । अहिले यो बाली मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेको छ । अहिले यो बाली किन्नका लागि समेत गाउँमा आउने गरेका छन् । सडक गाउँमा पुगेसँगै यो बालीको पनि देश तथा विदेशमा माग हुने गरेपछि अब फेरि यहाँका किसान बिक्रीका लागि खेती गर्न थालेको लुहारले बताउनभयो ।

केही वर्ष पहिला यहाँ यसको खेती गर्दैन थिए । अहिले पालिकाले यसको महत्त्व तथा बिक्रीका बजारीकरणको व्यवस्था सँगै ढुवानी अनुदान  समेत दिन थालेपछि कागुनो झुमरो चिनो लगायतको रैथाने बाली १.२ मेट्रिक टन उत्पादन हुने गरेको स्वार्किातक खापर गाउँपालिकाको कृषि शाखा सहायक प्रमुख रत्न रावलले बताउनुभयो ।

रैथाने बाली मानव स्वास्थ्यका लागि निकै राम्रो भएको र यसको खेती गर्दा यहाँका स्थानीयको  आयआर्जनमा थप केही टेवा पुग्ने देखिएकोले पालिका यसको संरक्षणमा लागेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पालिकाले कागुनो झुमरो चिनो उन्नतखाले पुरानो स्थानीय जातको धान कोदो लगायतको बिउ समेत किसानलाई वितरण गर्ने गरेको छ । रैथाने बालीको खेती गर्न उत्प्रेरित गर्ने गरी यती बेला पालिकाको कृषि विकास शाखाले यो बिउ किसानलाई वितरण गरेको छ ।” 

रैथाने बाली उत्पादनका लागि यहाँको माटो उत्तम देखिएकोले पछिल्लो समय किसानलाई रैथाने बाली खेती गर्नका लागि हौसला दिने गरेका छौ । साथै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा समेत रैथाने बालीको परिवार अनिवार्य गर्ने भनेका छौ  । यसले गर्दा एका तिर रैथाने बाली संरक्षण हुने र अर्को  यहाँका किसानको आयआर्जनमा थप टेवा पुग्ने अध्यक्ष रोकायाले बताउनुभयो । 

Author

शेरबहादुर सार्की