• ३० जेठ २०८२, शुक्रबार

प्रचण्ड कप भलिबलको सेमिफाइनल समीकरण पूरा

blog

गण्डकी प्रदेश र एभरेस्ट क्लब प्रतिस्पर्धा गर्दै । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), जेठ २९ गते । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सेमिफाइलन समीकरण पूरा भएको छ ।

बिहीबार भएको खेलमा विभागीय टोली एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा एपिएफ क्लबले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।  

एपिएफले पहिलो सेट २५–६, दोस्रो २५–६ र तेस्रो २५–७ ले सहजै जित निकालेको हो । एपिएफले फाइनल प्रवेश गर्न न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग  प्रतिस्पर्धा गर्नेछ । 

बिहीबार नै भएको समूह ‘बी’ को अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

गण्डकी प्रदेशले पहिलो सेट २५–२१ ले जितेको थियो भने एभरेस्टले दोस्रो, तेस्रो र चौथो सेट जित्दै सेमिफाइनलको यात्र तय गरेको हो । 

एभरेस्टले दोस्रो  सेट २५–१४, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१४ ले जितेको हो ।  यो जितसँगै एभरेस्टले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ । 

असार ३१ गतेसम्म चल्ने यो प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले  ३ लाख र तेस्रो हुने टोलीले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।

उत्कृष्ट खेलाडीलाई नगद २० हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।